काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचनअघि गठबन्धन गर्ने प्रवृत्ति रोक्नुपर्ने माग उठेको छ । शुक्रबार केन्द्रीय समिति बैठकमा बोलेका केन्द्रीय सदस्यहरूले चुनावअघि एमालेले गठबन्धन गर्न नहुनेमा जोड दिएका हुन् ।
एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार केन्द्रीय सदस्य दिनेश कोइरालाले चुनावअघि गठबन्धन नगर्न एमालेलाइ पनि सहमत गराउनुपर्ने धारणा राख्नु भएको हो ।
'दुई पार्टी मिल्दा राम्रो सन्देश गएन । गलत गतिविधि ढाकछोप गर्न गठबन्धन बनेको भन्ने भाष्य बाहिर गएको छ । एमालेलाई चुनावअघि गठबन्धन नगरौँ भनेर कमिटमेन्ट गराऔँ‚' ती सदस्यले भने ।
यस्तै, केन्द्रीय सदस्य गोविन्द शाहीले सयदिने अभियानलाई व्यवहारिक बनाउनुपर्ने बताउनु भयो । उहाँले अभियानमा पठाइनेहरूलाई इन्चार्जु शब्द प्रयोग नगर्न पनि आग्रह गर्नुभयो ।
बैंठकमा केन्द्रीय सदस्य गोमाकुमारी भट्टराईले पार्टीमा गुटले चरम सीमा नाघेको बताउनु भयो । अर्का केन्द्रीय सदस्य मुक्ता यादव र मधेस प्रदेश सभापति कृष्ण यादवले पार्टीले मधेस प्रदेशलाई प्राथमिकतामा नराखेको गुनासो गर्नुभयो ।
पार्टीको केन्द्रीय समिति बैठकमा बंगलादेशमा हिन्दु समुदायमाथि ुज्यादती भएको विषय पनि उठेको छ । केन्द्रीय सदस्यहरूले यस विषयमा कांग्रेसले संस्थागत निर्णय गरेर बोल्नुपर्ने धारणा राखे ।
केन्द्रीय सदस्य नैनसिंह महरले बंगलादेशमा हिन्दु तथा अल्पसंख्यकमाथि भइरहेको हिंसात्मक गतिविधिको निन्दा हुनुपर्ने बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य चन्द्र केसीले बंगलादेशमा हिन्दुको अवस्थाबारे कांग्रेस संस्थागतरूपमा बोल्नुपर्ने भन्दै आवाज उठाएको ती केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।
अर्का केन्द्रीय सदस्य अब्दुल सतारले बंगलादेशकै कुरा ल्याएर नेपालमा मुस्लिम समुदायको अधिकार खोस्ने गरी गतिविधि अघि बढ्ने भन्दै चिन्ता व्यक्त गरेको ती केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।