काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०८०-८१ मा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार सो नाफामा डेडिकेटेड र ट्रंकलाइनको बिल जोडिएको छैन । कार्यकारी निर्देशक घिसिङले तीनवर्षे कार्यकाल पूरा भएको अवसरमा गरेको पत्रकार सम्मेलनमा पछिल्ला ८ वर्षको अवधिमा ८२ अर्ब रुपैयाँ नाफा कमाएको बतउनुभयो।
आव २०७२-७३ मा ३५ अर्ब सञ्चित घाटामा रहेकामा प्राधिकरण अहिले ४७ अर्ब सञ्चित नाफामा रहेको भनाइ उहाँको रहेको छ । अहिले प्रतिव्यक्ति विद्युत् खपत १ सय ३१ युनिटबाट ४ सय युनिट पुगेको र तुलनात्मक रूपमा विद्युत् सस्तो भएकाले विद्युतीय गाडी बढ्न थालेको उहाँले बताउनुभयो । उहाँले बितेका ८ वर्षमा तीनपटक विद्युत्को महसुल घटाएको जानकारी दिनुभयो ।
प्राधिकरणको कुल सम्पत्ति ८ वर्षअघि २ खर्ब ११ अर्ब रुपैयाँ रहेकामा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ रहेको पनि उहाँले जानकारी दिनुभयो । देशभरि रहेका जग्गाहरूको एकिन गरी करिब ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको बताउँदै उनले गत वर्ष मात्र काठमाडौं उपत्यकाभित्र करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा प्राप्त भएको जानकारी दिनुभयो ।
सन् २०३५ भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहितको सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहेको बताउँदै कार्यकारी निर्देशक घिसिङले चाँडै नै १० प्रतिशत आईपीओ जारी गर्ने घोषणा पनि गर्नुभयो । आईपीओबाट संकलन भएको रकम ठूला जलविद्युत्मा लगानी गरिने जानकारी पत्रकार सम्मेलनमा उहाँले दिनुभएको थियो । प्राधिकरणले बर्सेनि १३ अर्ब रुपैयाँको विद्युत् चुहावट नियन्त्रण गर्दै आएको बताउँदै अहिले विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा झारिएको उहाँको जिकिर थियो ।
प्राधिकरणका ५९ लाख ग्राहकमध्ये २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँमै विद्युत् उपलब्ध गराइएको भनाइ उहाँको रहेको छ । सिँचाइमा प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध गराइएको र खानेपानी लिफ्टिङ डिमान्डमा निःशुल्क र सहुलियतमा विद्युत् उपलब्ध गराइएको घिसिङले बताउनुभयो । उहाँले ३ वर्षअघि विद्युतीकरणको अवस्था करिब ५८ प्रतिशत मात्रै रहेकामा ३ वर्षको अवधिमा यो प्रतिशत बढेर ९९ प्रतिशतसम्म पुगेको बताउनुभयो । उहाँले अहिले प्राधिकरणका ग्राहक ५९ लाख ३५ हजार पुगेको पनि बताउनुभयो ।
त्यस्तै, सिँचाइका लागि प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध गराइरहेको र लिफ्टिङ् खानेपानीमा डिमान्ड शुल्क नलाग्ने जानकारी उहाँले दिनुभयो ।
इक्रा नेपालले गरेको क्रेडिट रेटिङ्मा प्राधिकरणले निरन्तर ‘डबल ‘ए’ प्लस’ रेटिङ पाइरहेको जानकारी पनि उहाँले दिनु भयो । ८ वर्षमा मात्र प्राधिकरण करिब १ खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम भएको उहाँको भनाइ छ । प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।
आम्दानी बढाउँदै लगेको प्राधिकरणले प्रसारण लाइन मात्र होइन, विद्युत् उत्पादनमा पनि लगानी बढाएको भनाइ उहाँको छ । प्राधिकरणको सहायक कम्पनीमार्फत १ सय ४० मेगावाटको तनहुँ जलाशययुक्त, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिशूली ३बी, रोलवालिङ २० मेगावाटका आयोजनाहरू निर्माणाधीन रहेको जानकारी उहाँले दिनुभयो । उनका अनुसार प्राधिकरणको सहायक कम्पनी चिलिमेको अगुवाइमा निर्माणाधीन २ सय ७० मेगावाटका आयोजनाहरू सञ्चालनको अन्तिम चरणमा छन् । चिलिमे जलविद्युत् कम्पनीले करिब ३ सय मेगावाटका थप जलविद्युत् आयोजनाहरू अगाडि बढाएको छ ।
यसैगरी, ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’, १८ दशमलव २ मेगावाटको माथिल्लो मोदी, २ सय १० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी पाँचौंको निर्माण सुरु भएको छ । १ हजार ६३ मेगावाटको माथिल्लो अरुण र ६ सय ७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाहरू वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने अवस्थामा पुगेका छन् । दुवै आयोजनाहरूको निर्माणपूर्वका तयारीका कार्यहरू भइरहेका छन् ।
६ सय ८३ मेगावाटको सुनकोशी–३ जलाशययुक्त जलविद्युत् आयोजनालाई भने नेपाल र बंगलादेशका सरकारी निकायको लगानीमा निर्माण गर्नेगरी काम अगाडि बढाइएको उहाँले स्पष्ट पार्नुभयो । त्यस्तै, दक्षिण एसियाली क्षेत्रकै नमुना परियोजनाका रूपमा अगाडि बढाउन सकिने १० हजार ८ सय मेगावाटको कर्णाली (चिसापानी) बहुउद्देश्यीय जलाशययुक्त आयोजनाको विस्तृत अध्ययन प्रक्रिया सुरु गरिएको जानकारी पनि उहाँले दिनुभयो ।
कार्यकारी निर्देशक घिसिङले सरकारको कोषमा सावाँ ब्याज, आयकर, रोयल्टी गरी आव २०७८-७९ मा ९ अर्ब ७४ करोड, २०७९-८० मा १५ अर्ब ७० करोड र २०८०-८१ मा १० अर्ब ७० करोड जम्मा गरिएको तथ्यांक पनि दिनुभयो ।
अहिले विद्युत् आयोजनाहरू गरी कुल जडित क्षमता ३ हजार १ सय ५७ मेगावाट पुगेको छ । विगत ३ वर्षमा मात्र १ हजार ७ सय ६ मेगावाट राष्ट्रिय प्रणालीमा थप भएको जानकारी उहाँले दिनुभयो । जडित क्षमतामा सबैभन्दा बढी करिब ९५ प्रतिशत अर्थात् २ हजार ९ सय ९१ मेगावाट योगदान जलविद्युत्कै रहेको छ । थर्मल ऊर्जा ५३ मेगावाट, सौर्य ऊर्जा १ सय ७ मेगावाट र बायोमास ऊर्जा ६ मेगावाट रहेको जानकारी उनले दिए । निजी क्षेत्रका ३ सय ४० आयोजनाहरूसँग आव २०७२-७३ मा २ हजार ८ सय २९ मेगावाट मात्र पीपीए गरिएकामा यस अवधिमा १० हजार ३ सय मेगावाटको पीपीए गरिएको बताउनुभयो । यसमध्ये ३ वर्षमा ४ हजार मेगावाटको पीपीए गरिएको पनि उनले स्पष्ट पार्नुभयो । यस अवधिमा नदीप्रवाही जलविद्युत् आयोजनाका लागि १ हजार ५ सय मेगावाटको थप पीपीए खुलाएको पनि कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।
भारतको प्रतिस्पर्धी बजारको डे अहेड तथा रियल टाइम र मध्यकालीन सम्झौताबमोजिम दैनिक रूपमा ७ सय मेगावाट विद्युत् निर्यात भइरहेको जानकारी उहाँले दिनुभयो ।
बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यातका लागि प्रतिस्पर्धामा सहभागी भई बिड स्वीकृति भइसकेकाले नेपाल, भारत र बंगलादेशका निकायहरूबीच विद्युत् खरिद–बिक्री हुने चरणमा पुगेको उहाँले बताउनुभयो । बंगलादेशमा उत्पन्न भएको असहज अवस्थाका कारण सम्झौता गर्न प्रभावित भए तापनि स्थिति सहज हुनासाथ सम्झौता हुने पनि उहाँले जानकारी दिनुभयो ।