काठमाडौं । होटेल हायात रहेको तारागाउँ विकास समितिको जग्गासम्बन्धी विवाद फेरि संसदीय समितिमा प्रवेश भएको छ । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आइतबारको बैठकमा सांसदहरूले तारागाउँलाई भ्रष्टाचारको केन्द्र बनाइएको भन्दै प्रश्न गरे ।
तीन दशकदेखि छलफल जारी रहे पनि समाधानको प्रयास नगरिएको उनीहरूले बताए । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तारागाउँ विकास समितिको जग्गा हायातले हडप्न खोजेको भन्दै यसमा परिपक्व निर्णय आवश्यक भएको बताउनुभयो ।
यसमा ठूलो ‘घोप्लाबाजी’ भएको भन्दै उहाँले सरकारको शेयर २२ बाट ९ प्रतिशतमा कसरी ओर्लियो ? भन्ने अध्ययन गरिनुपर्नेमा जोड दिनुभयो । ‘तारागाउँ विकास समिति राखेका छौँ । थुप्रै जग्गा छ, होटेल छ । सरकारका लागि बोझ भएको छ कि आर्जनको माध्यम भएको छ ? यसबारे जानकारी दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘ककनी, नगरकोटछेउमा पनि रिसोर्ट छ, बेहाल छ । प्राइभेटलाई दिने भए दिनुपर्छ, नभए सरकारले अर्को काममा लगाउनुपर्छ । बोझको रूपमा राख्नु हुन्न ।’
हायातले हडप्ने प्रयास गरेको भन्दै उहाँले त्यसबारे सरकारको धारणा माग्नु आवश्यक भएको बताउनुभयो । ‘हायातले हडप्न खोजेको छ । सरकारको २२ प्रतिशतबाट ९ प्रतिशतमा शेयर झारेको छ,’ नेता नेपालले भने, ‘१५० रोपनी जग्गामा सरकारको धारणा के हो ? मन्त्रालयले के गर्न खोजेको हो ? स्पष्ट धारणा ल्याओस् ।’
नेकपा (एमाले)का सचिव भीम आचार्यले हायात रिजेन्सीमा ब्रह्मलुट देखिएको बताउनुभयो । त्यस्तो ब्रह्मलुट सामान्य छलफल र निर्देशनबाट नियन्त्रण नहुने उहाँले उल्लेख गर्नुभयो । कार्यतालिका बनाएरै काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
‘यसमा ब्रह्मलुट देखिएको छ । कति महिनाभित्र के काम गछौँ ? स्पष्ट पारेपछि मात्र बैठक बस्दा राम्रो,’ आचार्यले भन्नुभयो, ‘नभए यो कहिल्यै टुंगिँदैन । मन्त्रालयको कार्ययोजना आएपछि मात्र बोल्दा ठिक हुन्छ, निर्देशनमाथि निर्देशन मात्र दिनु राम्रो हुँदैन ।’
सार्वजनिक जग्गा हडप्न खोजिएको भन्दै उहाँलेले त्यसलाई सरकार मातहत फिर्ता ल्याउनुपर्ने बताउनुभयो । ‘१५० रोपनीको जग्गा के गर्ने ? योजना स्पष्ट आओस् अनि छलफल गर्छौँ,’ उहाँले भन्नुभयो । नेपाली कांग्रेसका सांसद एनपी साउदले सार्वजनिक जग्गा ‘लिज’मा दिने कानून स्पष्ट नपार्दासम्म विवाद समाधान नहुने बताउनुभयो ।