काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने बताउनुभएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको निरीक्षण पश्चात मन्त्री पौडेलले सफाइ र सेवाको प्रभावकारिता बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँ आइसकेपछि आफूलाई बेवास्ता भएको महसुस सेवाग्राहीले नगरुन । यहाँ सीमित स्रोत र साधनमा भइरहेको काम प्रसंशनीय छ, यद्दपि तपाईहरूको अझैँ धेरै सक्रियता राज्य र जनताले खोजेको छ ।’
आफू यसै क्षेत्रको सांसदका रुपमा प्रतिनिधित्व गर्ने भएकाले पनि यस अस्पतालसँग र यहाँका समस्यासँग आफू जानकार रहेको मन्त्री पौडेलले बताउनुभयो । ‘अस्पतालमा भीड कसरी घटाउन सकिन्छ भन्नेतर्फ सबैले सोच्नु जरुरी छ । यसका लागि हामीले डिजिटल रुपमा सेवा सुरू गरेका छौँ, यसको प्रयोग सुरुआती दिनमा कम देखिए पनि विस्तारै बढ्छ । कुनै व्यक्ति उपचार गराउन आउँदा सोही दिन उसले सेवा सुविधा पाउनुपर्छ, यसलाई सम्भव गर्न यहाँका चिकित्सकसँगै सम्पूर्ण अस्पताल परिवारको सहयोग र सहकार्य चाहिन्छ’, उहाँले भन्नुभयो ।
मन्त्री पौडेलले चिकित्सकले यसलाई पेसासँगै सामाजिक दायित्वका रुपमा लिनुपर्नेमा जोड दिनुभयो । फरक प्रसङ्गमा उहाँले वीर अस्पताल झैँ चिकित्सक र कर्मचारीले सेवा सुविधा नपाएको सुनिएकाले त्यसमा सक्दो समानता ल्याउने बताउनुभयो ।
सो अवसरमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले गत वर्षको तुलनामा यसवर्ष अस्पतालमा १० प्रतिशत बढी बजेट विनियोजन भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अस्पतालप्रति आम मानिसको विश्वास र यहाँको क्षमताकै कारण हामीले यसलाई अझैँ वृहत बनाउने नै छौँ । यसका लागि हामी तत्पर छौँ ।’
अस्पतालका निर्देशक डा. पङ्कज रायले एक हजार शय्याको अस्पताल बनाउन मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीकहाँ भएको जनशक्ति पर्याप्त नभए पनि हामीले सेवालाई थप सहज र प्रभावकारी बनाउन मेहनत गरिरहेका छौँ । हाम्रो वार्षिक र बहुवर्षीय योजनालाई मन्त्रालयले अगाडि बढाउन मद्दत गरिरहेको छ, यसले आगामी दिनमा थप सुविधा दिन सहयोग पुग्छ ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष बाबुराम गौतमले यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य मन्त्री बन्नुभएकाले अस्पतालको स्तर बढ्नेमा कुनै दुविधा नरहेको बताउनुभयो । सो अवसरमा मन्त्री पौडेलले १६ शय्याको ‘बालबालिका मनोचिकित्सा अन्तरङ्ग वार्ड’को उद्घाटन गर्नुभयो ।