काठमाडौं । थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको छ । जेल बसेको एक वकिललाई मन्त्रिपरिषद्मा सामेल गरेको आरोपमा प्रधानमन्त्री नै बर्खास्तीमा परेका हुन् ।
६७ वर्षीय थबिसिनले नैकितकताका नियम उल्लंघन गर्नुका साथै अवज्ञापूर्ण व्यवहार गरेको अदालतको ठहर छ । थबिसिन एक वर्षभन्दा पनि कम समय प्रधानमन्त्री पदमा बस्न पाएको बताइँदैछ । साथै, पछिल्लो १६ वर्षमा संवैधानिक अदालतले हटाएका तेस्रो प्रधनमन्त्री रहेको विवरण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अदालतको फैसलाले थाइल्याण्डमा राजनीतिक अस्थिरताको आशंका बढेको छ । किनकी थाइल्याण्डको राजनीति नैतिकताका लागि चिनिँदैन, बरु घुसखोरी सामान्य जस्तै छ र, विगतमा निकै गम्भीर आरोप लागेका मानिसहरु समेत मन्त्री पदमा रहेका बताइन्छ ।
धेरैले यसलाई राजनीतिक फैसला भनेका छन् । तर यसका लागि कसले दबाव दिएका थिएन भन्ने प्रष्ट छैन । प्रधानमन्त्री थविसिनले २७ अप्रिलमा वकिल समेत रहेका सिनेटर पिचित चुएनबनलाई प्राधनमन्त्री कार्यालयको मन्त्री नियुक्त गरेको बताइएको छ ।
विगतमा घुस लिने प्रयास गरेको आरोपमा ६ महिनाको सजाय सुनाइएका वकीललाई मन्त्री बनाएपछि प्रधानमन्त्री थविसिनले पदमुक्त गर्न माग गर्दै करिब ४० सिनेटर अदालत गएका थिए । चुएनबनले १९ दिनमै पद छाडे ।
तर, बुधबार नौ न्यायाधीशमध्ये ५ जनाले चुएनबनलाई मन्त्री नियुक्त गरेर नैतिकताको उल्लंघन गरेको अभियोगमा प्रधानमन्त्रीलाई नै बर्खास्तीको निर्णय गरेका हुन् ।