नुवाकोट । भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणका लागि चिनियाँ पक्ष कार्यक्षेत्रमा आइपुगेको छ ।
नेपाल सरकारसँग भएको सम्झौताअनुसार पुनःनिर्माणको जिम्मेवारी पाएको चिनियाँ टोली विदुर नगरपालिका–२ मा अवस्थित कार्य क्षेत्रमा फर्किएर पुनःनिर्माण सुरु गर्नुपूर्वको तयारीमा खटिएको हो । चिनियाँ पक्षले पुनःनिर्माणको तयारी गरेसँगै पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गसहितको टोलीबाट आज नेपाली पक्षले पूरा गर्नुपर्ने दायित्वको सन्दर्भमा यहाँका सरोकारवाला पक्षको जिम्मेवारीको सन्दर्भमा छलफल गरिएको छ ।
विसं २०७२ वैशाख १२ मा गएको भूकम्पले क्षति पु¥याएको दरबारसहितको संरचना पुनःनिर्माणका क्रममा चिनियाँ टोलीले भूकम्पले जीर्ण बनाएको संरचनालाई थप क्षति हुन नदिन विसं २०७६ असारमा खट बनाएर फर्किएको थियो । नेपाल सरकारसँग भएको सम्झौताको अवधि सम्पन्न भइसकेको छ भने लामो समय चिनियाँ पक्ष सम्पर्कमा नहँुदा दरबारसहितको संरचना पुनःनिर्माण अन्योल भइरहेको थियो । तर प्राविधिक र कामदारसहितको टोली कार्यक्षेत्रमा आएसँगै काम हुन्छ भन्ने निश्चित भएको पुरातत्व विभागका महानिर्देशक प्रधानाङ्गले विश्वास व्यक्त गर्नुभयो ।
भूकम्पले क्षति पु¥याएका संरचना पुनःनिर्माणमा सहयोग पु¥याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच दरबारसहित धार्मिक तथा पुरातात्विक महत्वका विभिन्न आठवटा संरचनाको पुनःनिर्माण गर्ने समझदारी भएको छ ।
सरकारीस्तरमा भएको सम्झौताअनुसार पुरातत्व विभाग र निर्माणको जिम्मा पाएको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच २०७६ जेठमा ४५ महिनाभित्रै काम सम्पन्न गर्ने उल्लेख गरिएको थियो । दुई पक्षीय सम्झौतापश्चात् सम्पदाहरुलाई थप क्षति हुन नदिन खट बनाएर नयाँ वर्ष मनाउन गएको चिनियाँ पक्ष कोरोना रोगको सङ्क्रमणको कारण देखाई फर्कन ढिलो गरेको हो ।
तीन वर्षपश्चात् विसं २०७९ असोजमा चिनियाँ प्राविधिक (इन्जिनियर) टोली आएर दरबारको जग, गारो र छानाको वस्तुस्थिति अध्ययनपश्चात् प्रबलीकरण अथवा पुनःनिर्माणसम्बन्धी अध्ययन गरेर फर्किएको थियो । त्यसपश्चात् अहिले तेस्रोपटक चिनियाँ पक्ष कार्यक्षेत्रमा आएर पुनःनिर्माण अघि बढाउन आवश्यक व्यवस्थापनमा जुटेको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख सुनिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पुनःनिर्माणका लागि यसअघिको सम्झौता अवधि काम सुरु नहुँदै सकिएकाले नयाँ सम्झौतामार्फत पुनःनिर्माण अघि बढाउन चिनियाँ पक्ष सकारात्मक देखिएको छ ।
सम्पदा पुनःनिर्माणका क्रममा उत्पन्न स–साना प्रकृतिका समस्या समाधानको जिम्मेवारी स्थानीय सरकारको हुनेछभने कर्मचारी–कामदारको भिषा थप, राजस्व छुट लगायतमा सङ्घीय सरकारको सहयोग हुने गरेर नयाँ सम्झौता गर्न लागिएको छ । पहिलो चरणमा साततले दरबारसहित दरबार परिसरमा रहेको गारदघर र रङ्गमहलको आवश्यकताका आधारमा पुनःनिर्माण तथा प्रबलीकरण गरिने चिनियाँ पक्षले जनाएको छ । त्यसपश्चात् लिच्छविकालीन तलेजु (तुलजा भवानी)को मन्दिर, सेतोपाटी, लामपाटी, विष्णु र नारायण मन्दिरको पुनःनिर्माण गरिनेछ ।
चिनियाँ पक्षले कार्य प्रारम्भपूर्व नै नियमित विद्युत् प्रवाह, दरबारसम्म हेभी उपकरणसहितको सवारीसाधन आउजाउ गर्न पहुँच मार्ग, पानी, सामग्री भण्डारणका लागि खुला स्थान उपलब्ध गराउन माग गरेको छ । उक्त माग पूरा गर्न शुक्रबार भएको छलफलमा विदुर नगरपालिकाका तर्फबाट नगरप्रमुख राजन श्रेष्ठले पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि विसं १८०१ मा विजय हासिल गरेपश्चात् साततले दरबारको निर्माण गर्न लगाई यहीँबाट देशभरको कामकाज सञ्चालन गर्नुभएको थियो । उक्त दरबार क्षेत्र परिसरमा अवस्थित तुलजा भवानी मन्दिर भने लिच्छविकालीन रहेको नुवाकोट दरबार मौला अमालका प्रतिनिधि (द्वारे) महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।