काठमाडौं । भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।
लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । अवरद्ध सडक खोल्ने प्रयास जारी छ । यसैगरी गए रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो ।
त्यसैगरी तम्घास‐रिडी सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका १ को रिडी खज्र्याङ् सडक र तम्घास‐रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सो क्षेत्रमा पूर्णरुपमा अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अविरल वर्षाका कारण रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि सडक अबरुद्ध बनेको छ । सडक अबरुद्ध बनेपछि सदरमुकाम तम्घास र वामीटक्सारदेखि बुटवल‐काठमाडौँसम्म जाने लामो तथा छोटोदुरीका सवारी साधनहरु बीचबाटोमै अलपत्र परेका छन् ।
सडक सञ्चालन गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भैरहे पनि वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सञ्चालन गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
बाढीले घर बगायो
त्यसैगरी अबिरल वर्षाका कारण गुल्मीको छत्रकोट गाउँपालिका–५ दुमैमा खोलामा आएको बाढीले स्थानीय रामबहादुर बुचाको घर बगाएको छ । बुचाको दुईतले घर बगाउँदा दुईवटा बाख्रासहित १५ वटा कुखुरा मरेका छन भने एउटा स्कुटर समेत बगाइदिएको छ । उक्त घटनामा मानवीय क्षती हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
हावाहुरीसहित आएको वर्षाका कारण मकैवालीमा समेत पूर्ण रुपमा क्षति पुर्याएको छ ।
वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आउने तीन दर्जनभन्दा बढी सडकहरु समेत अबरुद्ध बनेको जनाइएको छ । वर्षाका कारण थप जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरो ग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सर्त भइ सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ । साथै पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडक अवरुद्ध भएको छ । शुक्रबार बेलुकी परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ–ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जाजरकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
करिडोरअन्तर्गतको भेरी नगरपालिका–१३ कुदुबाट वडा नं ४ को खहरेखोला भिर र छेडागाड नगरपालिका–१२ कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको हो । भेरी नगरपालिका–११ स्थित खोदाखोला नजिक पनि खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु–जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका–१२ काडला पहाडबाट तल्लु बगरसम्मको सडकका ठाउँठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध भएको बताउनुभयो । केही स्थानमा पहिरो हटाए पनि शनिबार बिहान फेरि कुदु र मटेलामा पहिरो खसेका कारण अहिले करिडोरभित्रको छिन्चु–जाजरकोट सडक अवरुद्ध प्रहरी पमुख पाण्डेले जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यालय आज बिहानैदेखि पहिरो पन्छाउन जुटेको छ । चन्दननाथ गण मालिका ब्यारेक क्षेत्रमा झरेको पहिरो पनि पन्छाउन थालिएको छ । पर्याप्त उपकराणको अभावमा सबैतिर समयमै बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । आज बिहानैदेखि भारी वर्षा भइरहेकाले समस्या थपिएको छ ।