काठमाडौं । सहकारी हिनामिनाबारेको संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग यही भदौ ७ गते बयान लिने तयारी गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीमा नाम जोडिएपछि लामिछानेलाई समितिले भदौ ७ गते बयानका निम्ति बोलाउन लागेको हो ।
“समितिको कार्यविधिअनुसार सहकारीको बचत रकम दुरुपयोगमा संलग्न आरोपितहरूलाई बयान लिने क्रम अन्तिम चरणमा पुगको छ,” समितिका एक सदस्यले बाह्रखरीसित भने, “उहाँ (रवि लामिछाने)लाई (भदौ) ७ गते बोलाउने तयारी छ ।”
सो सहकारीबाट लामिछानेले पटक-पटक गरी साढे तीन करोड रुपैयाँ लिएर गोरखा मिडिया नेटवर्कमा लगानी गरेको आरोप छ । लामिछानेले आरोप अस्वीकार गर्दै आउनु भएको छ ।
सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरी गोरखा मिडियामा लगानीको आरोप लगाइएका रास्वपाकै सहमहामन्त्री विपीन आचार्यसँग समितिले आइतबार बयान लिएको छ । समितिले सहकारीका सबै आरोपितसँग सोधपुछ गरिरहेको छ ।
कारागारबाट ल्याएर सोधपुछ
समितिले सहकारी ठगी आरोपमा जेल र थुनामा रहेका करिब २० जनासँग बयान लिएको छ । तीमध्ये आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती (केबी उप्रेती)लाई डिल्लीबजार कारागारबाट झिकाएर साउन २८ गते बयान लिएको थियो ।
समितिले सोही दिन सिभिल सेभिङस एन्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था)का अध्यक्ष इच्छाराज तामाङसँग बयान लिएको थियो । तामाङलाई डिल्लीबजार कारागारबाट झिकाएर सोधपुछ गरिएको हो ।
डिल्लीबजार कारागारबाटै झिकाएर समितिले कान्तिपुर सेभिङस एन्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था)का अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीसँग सोधपुछ गरिसकेको छ ।
गएको साउन २९ गतेको समिति बैठकमा सूर्यदर्शन सहकारीका सचिव एवं गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेलसँग सोधपुछ गरिएको थियो । रम्तेललाई कास्की कारागारबाट झिकाएर सोधपुछ गरिएको थियो ।
कास्की कारागारमै रहेका सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक शिवकुमार गुरुङ (महेन्द्र भोटे), पूर्वसञ्चालक एवं सफ्टवेयर डेभलपर भविश्वर अर्यालसँग समितिले सोधपुछ गरिसकेको छ ।
साउन ३० गते समितिले पोखराकै प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शंकर कार्की र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रमणि पौडेललाई कास्की कारागारबाट झिकाएर सोधपुछ गरेको थियो ।
सोही दिन पोखराकै बलिदानी बचत तथा ऋण सहकारी संस्था र ललितपुरको सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठलाई कास्की कारागारबाट झिकाएर समितिले बयान लिएको थियो ।
साउन ३० गते नै पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेललाई कास्की कारागारबाट समितिको बैठकमा ल्याई सोधपुछ गरिएको थियो ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बुटवलस्थित प्रधान कार्यालयमा क्यासियर पदमा कार्यरत रोशनी गुरुङसँग साउन ३१ गते सोधपुछ गरिएको थियो । उनी ०८० वैशाखमा दुई लाख रुपैयाँ धरौटीमा रुपन्देही जिल्ला अदालतको आदेशमा छुटेको बताइन्छ ।
सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भैरहवा कारागारबाट झिकाएर समितिले सोधपुछ गरिसकेको छ । समितिले साउन ३१ गते सुप्रिमकै पूर्वसचिव दिपेशकुमार पुनसँग बयान लिएको थियो ।
साउन ३२ गते समितिले छिपछिपे, नवलपरासी (सुस्ता पूर्व), सनराइज, चितवन र नमस्ते बर्दियालगायत सहकारी संस्थाका सञ्चालक र अध्यक्ष रहेका नागेन्द्रबहादुर रिमाललाई चितवन कारागारबाट झिकाएर बयान लिएको थियो ।
ललितपुरको सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंलाई नख्खु कारागारबाट झिकाएर समितिले सोधपुछ गरिसकेको छ ।
ललितपुरकै मानभवनस्थित कल्याण उपकार सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका अध्यक्ष लीलाबहादुर (एलबी) गुरुङलाई नख्खु कारागारबाट झिकाएर समितिले बयान लिइसकेको छ ।
ललितपुरकै कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय र भक्तपुरको गट्ठाघरस्थित कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापालाई नख्खु जेलबाट झिकाएर समितिले सोधपुछ गरिसकेको छ ।