काठमाडौं । कतार नेपालमा लगानीको अध्ययन संयन्त्र बनाउन तयार भएको छ । प्रधानमन्त्री प्रचण्ड र नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको प्रतिनिधिमण्डल बीच सोल्टी होटलमा भएको वार्तामा कतारले नेपालमा लगानीको क्षेत्र पहिचान गरी अध्ययन गर्न संयन्त्र बनाउने प्रतिवद्धता जनाएको हो ।
सौहार्दपूर्ण भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण बनेको भन्दै अब कतारलाई भौतिक पूर्वाधार, विद्युत्, कृषि र शिक्षासम्बन्धीमा लगानीका क्षेत्रहरु लागनी गर्न आग्रह गर्नु भएको थियो ।
‘कतारको लगानी गर्न सक्ने हैसियत बिस्तार हुँदै गइरहेको छ । नेपालमा पनि लगानी क्षेत्रहरु विकास र विस्तार भइरहेका छन् । निकट भविश्यमा हामी लगानी सम्मेलन गर्दै गइरहेका छौं । त्यसमा कतारको तर्फबाट महत्त्वपूर्ण सहभागिता र लगानी गर्न आग्रह गर्छ,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै उहाँका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले भन्नुभयो, ‘त्यसमा मुख्य भौतिक पूर्वाधार, विद्युत्, कृषि र शिक्षासम्बन्धी क्षेत्र रहेका छन् ।’
अमिर तमिमले प्रधानमन्त्रीको प्रस्तावलाई सकारात्मक रुपमा लिनु भएको थियो । उहाँले नेपालमा लगानीको सम्भाव्यता अध्ययन गरी छलफल गर्न दुवै देशले एउटा संयन्त्र बनाउने बताउनुभयो । सापकोटाले, ‘कतार र नेपालको दुवै तर्फबाट संयन्त्र बनाउने समझदारी बनेको छ । सम्भाव्य क्षेत्रको अध्ययन र छलफल गर्नको लागि संयन्त्रले काम गर्नेछ’ भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले नेपालमा हवाई सम्पर्क बढाउन पोखरा र भैहरवामा जहाज पठाउन गरेका प्रस्तावमा पनि अमिर सकारात्मक भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वमा देखिएको द्वन्द्व शान्तिपूर्ण ढंगबाट समाधान निकाल्नको लागि कतारले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दै हमास र इजरायलको द्वन्द्वको क्रममा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको रिहाई गर्न कतारको ध्यानाकर्षण गराउनुभयो ।
भेटवार्तामा कतारमा कार्यरत नेपालीको विषयमा पनि छलफल भएको सापकोटाले बताउनुभयो । अमिरसमक्ष प्रधानमन्त्री प्रचण्डले मर्यादित श्रम सिर्जना र श्रम सहकार्यलाई समयसापेक्ष र नयाँ ढंगले सोच्नुपर्ने बताउनुहुँदै कतारमा काम गर्न गएका नेपालीले आफ्नो परिवार र देशको अर्थतन्त्रमा योगदान गरेको जानकारी दिनुभयो ।