नारायणगढ। पछिल्लो समय संरक्षित क्षेत्रका वयस्क बाघ घाइते अवस्थामा मानव बस्तीमा निस्कन थालेका छन् । विगतमा बुढा र अशक्त बाघ जङ्गलमा सिकार गर्न नसकेपछि मानव बस्तीमा निस्कने गर्थे तर पछिल्लो समय वयस्क बाघ नै घाइते अवस्थामा निकुञ्जबाहिर भेटिन थालेका छन् । तिनले मानव बस्तीनजिकका साना वनमा बस्ने र घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्ने गरेको पाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले जङ्गलमा बाघहरू जुधेर घाइते हुँदा मानव बस्तीतर्फ निस्किएको बताउनुभयो । उहाँले भन्नुभयो, “वयस्क दुई बाघ एकआपसमा भेटिएपछि जुध्छन् । यसरी जुध्दा बलियोले कमजोरलाई मार्न सक्छ । कतिपय घाइते भएर लखेटिन्छन् । यसरी लखेटिएका बाघ निकुञ्जबाहिरका बस्तीमा आइरहेका छन् ।”
चितवन राष्ट्रिय निकुञ्जनजिकको प्रतापपुरका बलबहादुर राईको गोठमा गत बिहीबार बिहान भैँसीको आक्रमणबाट करिब छ वर्षको बाघ मर्यो । जङ्गलमा अर्को बाघसँग जुधेर शरीरभरि चोटैचोट भएको शिथिल अवस्थाको बाघले भैँसीलाई आक्रमण गर्न खोज्दा उल्टै भैँसीले आक्रमण गरेर बाघ म¥यो ।
पोस्टमार्टममा संलग्न रहेका निकुञ्जका पशु चिकित्सक डा. श्रेष्ठले भन्नुभयो, “जङ्गलमै दुई बाघ जुधेर त्यो बाघलाई घाइते बनाएर लखेटेको रहेछ । बाघ सात/आठ दिनदेखि भोकै भएकाले शिथिल अवस्थामा रहेको र आहाराको खोजीमा भैँसीलाई आक्रमण गर्न गएका बेला बाघलाई उल्टै भैँसीले हानेर मारिदियो ।”
यस्तै भदौ ३ गते निकुञ्जकै पश्चिमी क्षेत्रमा पर्ने नवलपरासीको विनयीत्रिवेणीको बगुवनबाट करिब छ वर्षको बाघले स्थानीयका दुई वटा बाख्रा र एउटा भैँसीलाई आक्रमण गरेर मारेपछि निकुञ्जले त्यसलाई नियन्त्रणमा लिएको थियो । मकैबारीमा लुकेर बसेको सो बाघको पछाडि फिलामा चोट छ । निकुञ्जले यो बाघ पनि एकआपसमा जुधेर घाइते भएको जनाएको छ ।
नारायणगढ बजारमा गत साउन २१ गते भरतपुर–२ का ६० वर्षीय पशुपति श्रेष्ठलाई आक्रमण गर्ने पाँच वर्षको बाघलाई उद्धार गरी सौराहा लगियो । घाइते नभएको यो बाघलाई केही दिन सौराहामै राखेर पछि निकुञ्जमै छाडियो । यी त निकुञ्जवरपरका प्रतिनिधि घटना हुन् । आर्थिक वर्ष २०८०/८१ मा निकुञ्जले ११ वटा बाघको उद्धार गरेको छ । चालु आव २०८१/८२ को करिब एक महिनामै दुई वटा बाघको उद्धार भएको छ । यसरी उद्धार गरिएका अधिकांश बाघ कुनै न कुनै रूपमा घाइते छन् ।
यस्तै आव २०८०/८१ मा चितवनमा आठ वटा बाघ मरेका छन् भने २०८१/८२ मा बिहीबार मरेको बाघ पहिलो बाघ हो । उद्धार गरिएकामध्ये सौराहामा तीन, कसरामा दुई र देवनगरमा दुई गरी छ वटा बाघ चितवनमै थुनेर पालिएको छ । यस्ता समस्यामा परेर थुनेर पालिएका बाघ बर्दियामा चार र बाँकेमा एउटा छन् । निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै बासस्थानको अभावमा पनि बाघ एकआपसमा जुध्ने गरेको बताइन्छ ।
वन्यजन्तुविद् डा. बाबुराम लामिछाने बाघको सङ्ख्या बढेसँगै वयस्क बाघहरू जुध्न थालेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बाघको सङ्ख्या बढेकै कारण एकआपसमा जुध्न थाले । यसरी बाघ जुध्नु भनेको कि त निकुञ्जमा आहाराको कमी भयो कि त बासस्थान सानो भयो भन्ने बुझ्नु पर्छ ।”
सन् २०२२ को गणना अनुसार नेपालमा ३५५ बाघ छन्, जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन् । यसअघिको सन् २०१८ को गणना अनुसार चितवनमा ९३ वटा मात्रै बाघ थिए । बाघको सङ्ख्या बढे पनि ९५३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्ज र ७५० वर्ग मिटर फैलिएको मध्यवर्ती क्षेत्रको वन क्षेत्र भने बढ्न सकेको छैन । एक अध्ययन अनुसार बाघको पोथीले १५ देखि ४० वर्ग किलोमिटर र भालेले २५ देखि ६० वर्ग किलोमिटर आफ्नो कार्यक्षेत्र बनाउने गर्दछ । आफ्नो कार्यक्षेत्रमा अन्य बाघ आए उनीहरू एकआपसमा जुध्ने गर्छन् ।
लामिछानेका अनुसार एक बघिनीले एक पटकमा चार वटासम्म बच्चा जन्माउने गर्छन् । उहाँले भन्नुभयो, “सय दिन बाघको गर्भधारण गर्ने समय हो । यसरी जन्मिएको बाघ करिब तीन वर्षमा आमा छाडेर आफ्नो बासस्थान खोज्न थाल्छ । हुर्कंदो बाघले आफ्नो ठाउँ खोज्दा पनि आपसमा जुध्ने गर्दछन् । अहिले निकुञ्जमा झाडी भएको र खुला ठाउँ सीमित मात्रै रहेकाले आहाराजन्य जनावर त्यहीँ हुँदा बाघको पनि आहाराको खोजीमा जम्काभेट हुँदा पनि आक्रमण बढेको हुन सक्ने डा. लामिछानेको भनाइ छ ।
उहाँले भन्नुभयो, “झाडी बढेका कारण खुला ठाउँ थोरै र सीमित क्षेत्रमा गएर आहाराजन्य जनावर रहने र आहारा पन्छाउँदै जाँदा बाघको जम्काभेट भएर द्वन्द्व बढेको हुनु पर्छ ।”