काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौं राष्ट्रिय पत्रकारिता दिवस २०८१ का अवसरमा शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकरणको अभियानको एउटा महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।
पत्रकारिताको धर्म र व्यवसायिकताको माध्यमबाट राष्ट्रहितको प्रवर्द्धन गर्न यो क्षेत्रको उल्लेखनीय भूमिका रहेको बताउँदै उहाँले, ‘पत्रकारिता क्षेत्रमा खोज र नवीनता प्रवर्द्धनमार्फत् अझ बढी व्यावसायिक, जिम्मेवार र समाजप्रतिको उत्तरदायित्व वहन गर्ने गरी प्रेसप्रतिको जनविश्वास बढाउने कार्यमा तपाईंहरू लाग्नुनै हुनेछ भन्ने मैले विश्वास लिएको छु’ बताउनुभयो ।
निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो । ‘लोकतान्त्रिक शासन प्रणालीमा मात्र निष्पक्ष र स्वतन्त्र पत्रकारिता सम्भव छ, त्यसैले अब यसको सुदृढीकरण र यो व्यवस्थाप्रति जनताको भरोसा अभिवृद्धिमा तपाईहरु अझ क्रियाशील हुनुहुनेछ’, उहाँले भन्नुभयो ।
सूचना प्रविधि र इन्टरनेटको विकाससँगै बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा व्यवस्थालाई कमजोर बनाउने चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य सूचना प्रवाह गर्न नेपाली प्रेस आगामी दिनमा अझै प्रभावकारी ढङ्गलेअघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
दिवसको अवसरमा वरिष्ठ पत्रकार सम्मान २०८० बाट प्रतीक प्रधान र त्रिभुवन पौडेल (मरणोपरान्त) तथा राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मेनका चौधरी, सूर्यमणि गौतम, भवानीसिंह ऐर, दीपक ज्ञवाली, त्रिप्ती शाही र प्रेमबहादुर कार्की ढोली (राजन केडी) पुरस्कृत हुनुभयो ।