कञ्चनपुर । विद्यालयमा कार्यरत शिक्षकलाई आन्तरिक सरुवा गरी अन्यत्र पठाइएपछि शुक्लाफाँटा नगरपालिका-१ बन्साहमा रहेको सिद्धबैजनाथ माध्यमिक विद्यायको पठनपाठन तीन महिनादेखि प्रभावित भएको छ । गणित, अङ्ग्रेजी, विज्ञान, नेपाली, सामाजिक विषयका शिक्षक अभाव हुँदा पठनपाठन हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रबहादुर ऐरीले बताउनुभयो ।
“विद्यालयको पठनपाठन सञ्चालन गराउनका शिक्षक चाहिए,” उहाँले भन्नुभयो, “शिक्षक सरुवा गरिए पनि नगरपालिकाले एक मात्रै शिक्षक पठाएका छन्, अरु शिक्षक अभाव छन्, व्यवस्था गरिएको छैन ।” अहिलेसम्म प्रद्यानाअध्यापकको टुङ्गो नलाग्दा नगर शिक्षक भर्ना गर्न नपाएको उहाँले बताउनुभयो । “निमित्तका भरमा काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “तीन पटकसम्म सूचना निकालेर दरखास्त आह्वान गरे पनि शिक्षक भर्ना गर्न पाइएको छैन ।”
गत असार २१ गते विद्यायमा कार्यरत प्रअसहित विषयगत शिक्षक सरुवा गरिएपछि पठनपाठनसँगै प्रशासनिक कार्य पनि ठप्प रहेको उहाँको भनाइ रहेको छ । उहाँका अनुसार विद्यालयमा सात सय ८० विद्यार्थी भर्ना भए पनि माध्यमिक तहमा तीन जना र प्लस टुमा दुई जना शिक्षक मात्रै कार्यरत रहेका छन् । आधारभूत तहमा पनि विद्यार्थी अनुपातमा शिक्षक अभाव रहेको उहाँले उल्लेख गर्नुभयो । विद्यालयका प्रध्यानाअध्यापकको सरुवा गरिएपछि अर्काे विद्यालयबाट प्रध्यानाध्यापक पठाइए पनि उहाँले प्रध्यानाअध्यापक पदमा बस्नका लागि इच्छा नदेखाएपछि अन्योलता सृजना भएको छ ।
विद्यालयमा शिक्षकको व्यवस्था गरिदिन माग गर्दै झण्डै १२ किलोमिटरको यात्रा पैदल चर्को घाममा तय गर्दै विद्यालयका विद्यार्थी आइतबार नगरपालिका कार्यालयमा पुगे । विद्यार्थीले नगर प्रहरी लगाएर चर्को घाममै बस्न लगाइएको अरोप लगाएका छन् । चर्को घाममा बसेका केही विद्यार्थीलाई मात्रै नगर प्रमुख कार्यकक्षमा बोलाएर छिट्टै शिक्षकको व्यवस्था गर्ने अश्वासन दिएर पठाइएको विद्यार्थीले बताउनुभयो ।
नगरपालिका कार्यालयमा पुगेका विद्यार्थी रमेश पूजाराले तीन महिनादेखि पठनपाठन नहुँदा दुई साताअघि नगर प्रमुखलाई शिक्षको व्यवस्था गरिदिनका लागि दिएको निवेदनको वेवास्ता भएपछि बाध्य भएर नगरपालिकासम्म पुग्नुपरेको बताउनुभयो । “शैक्षिक सत्र सुरु भए देखिनै शिक्षक अभाव हुँदा पठनपाठन हुन सकेको छैन,” उहाँले भन्नुभयो, “हेडसर सरुवा भएपछि शिक्षक नहँुदा विद्यालय पुग्ने र घर फर्कने कार्य मात्रै हँुदै आएको छ ।” विद्यालयमा कक्षा नौमा पढ्दै आउनुभएकी छात्रा विनीता भट्टले शिक्षक व्यवस्था गरी नगरपालिकाले समस्या छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताउनुभयो ।