काठमाडौं । सरकारी रेकर्ड अनुसार बन्द भनिएको नयाँ बानेश्वरस्थित 'एभरेष्ट होटल', सञ्चालकहरुले नवीकरणबिनै विक्रि गर्न खोजेका छन् । व्यवस्थापन पक्षका अनुसार यो होटल किन्नेहरुका लागि १० अर्ब रुपैयाँको प्रस्ताव राखिएको छ । ३१ रोपनी क्षेत्रफलमा फैलिएको द एभरेष्ट होटल परिसरमा क्यासिनोसमेत छ । तर, त्यो क्यासिनो हाल सञ्चालनमा छैन ।
सरकारी निकायको तथ्यांकमा भने होटल एभरेष्ट २०७२ सालको भूकम्पपछि बन्द छ । तर, वास्तविकतामा भने होटल मर्मत गरेर पछिल्लो दुई वर्षदेखि निरन्तर चलिरहेको छ । होटल व्यवस्थापनले यसअघि विक्रीको प्रयास गरेकामा होटल बन्द रहेका कारण मूल्यांकन कम भएको भन्दै रिनोभेसन गरेर सञ्चालनमा राखेर विक्रीको प्रयास गरिरहेको छ ।
भूकम्पछि निकै समय बन्द भएको होटल कोरोना महामारिले थप समस्यामा परेपछि निरन्तर बिक्रीको प्रयास भइरहेको व्यवस्थापकहरुले बताएका छन् । यो होटल सञ्चालन गरेर विक्री गर्दा मूल्यांकन बढ्ने भएपनि कोरोना महामारीपछि मर्मतसम्भार शुरु भएको यो होटल अहिले पनि आंशिक रुपमा मात्रै सञ्चालनमा आएको छ ।
होटल सञ्चालनमा रहेपनि सरकारी निकायमा यसले सञ्चालनको जानकारी पाएको छैन भने यसको ‘तारे’ स्ट्यान्डर्ड पनि खोसिएको अवस्था छ । यसले पर्यटक राखेवापत हुने लेनदेनका लागि विदेशी मुद्रा कारोबारको सिफारिससमेत लिएको छैन । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय अन्तर्गतको पर्यटन विभागबाट होटलले नवीकरणको अनुमति नलिएका कारण होटलको स्तर वर्गीकरण हाल पनि निलम्बनमा छ ।
होटलले वातावारणीय प्रभाव मूल्यांकन गरेर प्रतिवदेन नबुझाएका कारण तारे वर्गीकरणको नवीकरण नभएको हो । नवीकरण नभएको होटलले विदेशी मुद्रा सिफारिससमेत नपाउने भएकोले आन्तरिक रुपमा सञ्चालनमा भएपनि त्यसको औपचारिक जानकारी नआएको पर्यटन विभागका होटल शाखा अधिकृत चुनबहादुर तामाङले बताउनु भएको छ । ।
होटलले नवीकरण नगराएको र होटलको स्तरवर्गीकरणसमेत नभएकाले पाँचतारे भन्दै पर्यटक राख्नु ‘पर्यटन ऐन २०३५’ विपरीत विदेशी पाहुना राखिरहेको छ । ऐनले दर्ता तथा नवीकरण बिनाका होटलले विदेशी पर्यटक राख्न नपाउने व्यवस्था गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागका अनुसार होटल एभरेष्ट २०७० मंसिर १२ पछि नवीकरण भएको छैन । हाल यसले सरकारसँग होटलले सञ्चालन अनुमति लिएको छैन । पर्यटन मन्त्रालयको अद्यावधिक तथ्यांकमा ‘द होटल एभरेष्ट इन्टरनेसनल’ नामको यो होटल औपचारिक रूपमा बन्द छ ।
१६० कोठा रहेको यो होटलका ७६ कोठासहितको सेमिनार हल र रेस्टुरेन्ट नियमित सञ्चालनमा छन् । २८० कोठा क्षमताको यो होटलले १५५ जनाभन्दा बढीलाई रोजगारी दिन्छ । यो होटलले २०४२ माघ २२ गते पहिलोपटक स्तर वर्गीकरण भएर पाँचतारे स्तरको मान्यता पाएको थियो ।
पर्यटन विभागका अनुसार हरेक पाँच वर्षमा होटल व्यवसाय नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । होटल नवीकरण नहुँदा विदेशी मुद्राको कारोबार, पर्यटकीय सेवा सुुविधा प्रवाह र सरकारबाट लिने कुनै पनि सुविधा प्राप्त हुँदैन । यो होटलले पुनः सञ्चालन गर्ने भनेर वातावरणीय प्रभाव मूल्यांकन (आईईई) गर्ने अनुमति भने लिएको विभागले जनाएको छ ।
होटल नवीकरण गराउँदा हरेक ६ महिनाको आवधिक प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था छ । नवीकरण गर्न कुनै शुल्क तिर्नु पर्दैन । शुल्कबिना नै नवीकरण हुने भए पनि होटलहरूले अटेर गर्ने गरेकाले अब पर्यटन ऐन संशोधन गरेर कस्न खोजिएको विभागले जनाएको छ ।
होटल नवीकरण नहुँदा नयाँ पर्यटकीय सवारी साधन ल्याउन, भन्सार छुट, विदेशी मुद्रा विनिमय कारोबारसहितका गतिविधि ठप्प हुन्छ । पर्यटकीय सेवाका उद्योगलाई पाँच प्रतिशतमात्रै भन्सार तिरेर आवश्यक सामग्री आयात गर्न सरकारले नै सहजीकरण गर्ने गरेको छ ।