डिल कुमारी नेपाल, काठमाडौं । विनायक तामाङको निर्देशन रहेको तामाङ चलचित्र ‘ग्याल्बो राजा’को विशेष शो हुन लागेको छ । कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण भएको ‘ग्याल्बो राजा’ को यहि भदौ २९ गते बनेपास्थित शुभकामना हलमा विशेष शो गर्न लागिएको निर्देशक तामाङले बताउनुभयो ।
संगीता तितुङको प्रस्तुती यस चलचित्रमा विनायक तामाङ नायक र संगीता तितुङ आफैं नायिकाको भूमिकामा देखिनुहुनेछ । चलचित्रको कथा संगीताकै हो भने पटकथा तथा संवाद बाबुराम सुवेदीले तयार पार्नु भएको हो ।चलचित्रमा अर्जुन गुरुङ, माया देवी मोक्तान, सञ्जय लामा रुम्बा, रमेश स्याङ्तान, केबी मोक्तान, मेम्मर लो, बाबुराम सुवेदी, सुनलाल वाइबा, नोर्पु तामाङ लगायतले अभिनय गर्नु भएको छ ।
चलचित्रमा राजु किरातको द्वन्द्व, उत्तम शिशिर श्रेष्ठको नृत्य, सन्चु थोकरको छायांकन तथा कुमार स्याङ्बोको गीत, निमा दोङ र विश्व दोङको संगीत रहेको छ । रचना रिमाल, विश्व दोङ, सुमिना लो, निमा दोङ र जितु लोप्चनले गीतहरुमा स्वर दिएका हुन् ।
किताब सिंह घलान कार्यकारी निर्माता रहेको ‘ग्याल्बो राजा’ नेपाली भाषामा समेत डब गरिएको छ । तामाङ चलचित्रको बजार विस्तार एवं समग्र नेपाली दर्शकरुमाझ पुर्याउन नेपाली भाषामा समेत डब गरी अन्य हलहरुमा पनि प्रदर्शन गर्ने सोच बनाएको निर्देशक तामाङले बताउनुभयो ।
उहाँका अनुसार पहिलो विशेष प्रदर्शन कार्यक्रम समारोहमा सम्मान तथा सांगीतिक कार्यक्रम समेत हुनेछ । २०५९ सालमा पहिलो चलचित्रको रुपमा सेमला दुङाल निर्देशन गर्नु भएका तामाङको यो दशौं चलचित्र निर्देशन हो।