काठमाडौं । जाडो महिना लाग्न शुरु भएपछि नेपालका विभिन्न स्थानमा खोया हाँसहरु देखिन थाल्छन् । सेतो, खैरो र कालो रङ्ग मिसिएका यी आकर्षक चरा धेरै लामो दूरी तय गरेर नेपाल भित्रन्छन् । अंगे्रजीमा बार हेडेड गुज भनिने यो चरालाई नेपालमा खोया हाँसका नामले चिनिन्छ ।
प्राणीहरुलाई बाच्नका लागि अक्सिजन र अनुकुल तापक्रम अत्यावश्यक हुन्छ । उच्च स्थान अर्थात् बढी उचाइमा जीवजन्तुलाई आवश्यक पर्ने अक्सिजन र तापक्रम हुँदैन । तर, यो जातका चराले ८४८१ मिटर उचाइको मकालु र ८८४८. ८६ मिटर उचाइको सर्वोच्च शिखर सगरमाथामाथिबाट उडान भरेर नेपाल भित्रिने गरेको पाइएको छ ।
खोयाहाँस (बार–हेडेड गुज)को यहि विचित्र क्षमताका कारण विश्वका चराविद र वैज्ञानिकहरु यीप्रति आकर्षित भएका छन । त्यस्तो उचाइमा यो चराले अक्सिजन मास्कको सहायता विनानै आफुलाई जीवित राख्नसक्नु र उडानलाई निरन्तरता दिन सक्नुलाई चरा पण्डितहरुले अनौठो मानेका छन् ।
गर्मीको समयमा यो चराको प्रजाती तिब्बत, काजकिस्तान, मंगोलिया र रसियाका उच्च स्थानमा रहेका ताल छेउछाउलाई आफ्नो वासस्थान बनाउछन् । जाडो महिनाको संकेत शुरु भएपछि यो प्रजाति हिमालय पार गर्नुअघि तिब्बत, काजकिस्तान, मंगोलिया र रसियाबाट हिमालयको दक्षिणी क्षेत्रमा भेला हुन्छ र योजनावद्ध ढंगबाट हिमाल पार गरेर नेपाल, भारत, पाकिस्तान र म्यान्मारसम्म पुग्छन् ।
यी चरा काठमाडौं उपत्यकामा हत्तपति देखिदैनन तर कहिलेकाँही ‘टौ दह’ र आसपासका क्षेत्रमा देखा पर्छन । २०७८ साल माघको अन्तिम सातातिर यो तस्विर ‘टौ दह’मा लिइएको हाे ।
खोयाहाँसले मंगोलिया, चीन र तिब्बतमा बच्चा कोरल्छ । खोयाहाँसको आकार राजहाँस जत्रै हुन्छ । शरीर सेतो तर थोरै खैरो रङको हुन्छ । टाउको तथा घाँटीको एकतिहाइ भाग सेतो, टाउकोमा दुई वटा कालो धर्सा र आँखा कालो हुन्छ । वयस्क नभएका खोयाहाँसमा काला धर्साहरू देखिंदैनन् । खुट्टा हल्का पहेंलो हुन्छ । पखेटाको टुप्पो हल्का कालो हुन्छ । नेपालमा रारा, कोशी, नारायणी, राप्ती लगायतका नदी किनारामा यि प्रजातिका चराको अवलोकन गर्न पाइन्छ ।