काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ देखि २२ गतेसम्म दशैँका लागि सुकिला नोट सटही गर्ने भएको छ । बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित सातवटै कार्यालयबाट सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।
दशैँमा बढी नोट साट्ने प्रचलन भएकाले १३ गतेबाट सुकिला नोट दिइने व्यवस्था गरिएको राष्ट्र बैंकका सूचना अधिकारी डा. भागवत आचार्यले बताउनुभयो । राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट पनि सर्वसाधारणले सुकिला नोट सटही गर्न सक्ने छन् । बैंक तथा वित्तीय संस्थाले पनि सुकिला नोट सटही गर्न सक्ने व्यवस्था मिलाउन भनिएको आचार्य बताउनुहुन्छ । अहिले पनि बैंकहरूले सुकिला नोट दिइरहेको हुन सक्ने उहाँको भनाइ छ ।
यो वर्ष राष्ट्र बैंकले नयाँ नोट छापेको छैन । पुराना सुकिला नोट राष्ट्र बैंकसँग प्रशस्त भएकाले यी नोटलाई ढुसीबाट बचाउन र नयाँ नोट छाप्दा लाग्ने लागत बचाउन यो वर्ष नयाँ नोट नछापिएको उहाँ बताउनुहुन्छ ।
‘नयाँ नोट छाप्न लागत बढी लाग्छ । यो वर्ष हामीले लागतलाई बचाएका छौँ,” उहाँले भन्नुभयो, “राष्ट्र बैंकमा सुकिला नोटहरू प्रशस्तै छन् । हामीसँग भएका नोटलाई बजारमा पठाउन पनि यो वर्ष नयाँ नोट छपाइ नगरिएको हो ।”
सर्वसाधारणले राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सातवटै प्रादेशिक कार्यलय र नजिकैका बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिला नोट सटही गर्न सक्ने छन् । सर्वसाधारणले आफ्नो खाता रहेको बैंकमा गएर पनि सुकिला नोट साट्न सक्ने छन् ।