काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले ९ वर्षपछि फेरि जलनका बिरामीलाई सेवा दिन थालेको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पताल रेफर गर्ने गरेको थियो, वीरले ।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार आजबाट ‘जलन उपचार केन्द्र’बाट सुरु गरिएको छ । जसमा १० जनरल बेड, ५ आईसीयू र तीन वटा अप्रेशन थिएटर छन् । नेपालमा जलनको उपचारको सुरूवात वरिष्ठ प्लाष्टिक सर्जन डा. केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गर्नु भएको थियो ।
डा. पौडेलले भन्नुभयो, ‘अबदेखि जलनका बिरामीलाई चाहिने सबै सुविधा वीर अस्पतालले दिन सक्छ । हामीले केन्द्रको रुपमा यसको नामाकरण गरेका छौं । जलेका बिरामी अन्य अस्पताल र विदेशमा समेत रिफर गर्नु नपर्ने गरी सेवा दिन्छौं ।’
नेपालजस्तो अल्पविकसित देशमा जलनको समस्या भयावह छ । चिकित्सकहरुका अनुसार जलनमा पर्ने धेरैजसो बिरामी दूरदराज र विपन्न वर्गका हुन्छन् । नेपाल सरकारले जलनका घाइतेहरूलाई नै उपचार गर्ने भनेर अस्पताल बनाएको छैन । सबै खाले उपचार हुने ठुला अस्पतालमा ५ देखि १० वेडको जलन उपचार विभाग तोकिए पनि दक्ष जनशक्ति नहुँदा काठमाडौं नै रेफर गर्ने चलन छ ।
अबदेखि वीरले सर्वसुलभ र गुणस्तरीय सेवा दिने डा. पौडेले बताउनु भयो । अमेरिका लगायतका विकसित मुलुकमा अत्याधुनिक उपकरण र स्तरीय उपचारका कारण ९० प्रतिशतसम्म जलेर आएका ५० प्रतिशत बिरामीलाई बचाएको रेकर्ड छ । तर नेपालमा ४० प्रतिशत जलेका बिरामीलाई पनि बचाउन हम्मेहम्मे पर्छ ।
हाल नेपालमा सबैभन्दा बढी सेवा दिइरहेको कीर्तिपुर अस्पतालमा शरीरको बाहिरी भाग जलेकामा ३० प्रतिशत र श्वासनली जलेकोमा ६० प्रतिशतभन्दा बढी मृत्युदर छ । उपत्यकाका ८ प्रतिशत र काठमाडौं बाहिरका ९२ प्रतिशत जलनका बिरामी आउने गरेको कीर्तिपुरको तथ्यांकले देखाउँछ । बढी जलनका घटना मधेश प्रदेशमा हुने गरेको छ ।
एक लाख सहुलियत दिने मन्त्रीको घोषणा
अस्पताल बसाई लामो र जलनको बिरामीको स्वास्थ्य अवस्था जटिल हुने भएकाले उपचार खर्चिलो हुन्छ । एक अध्ययनअनुसार जलेका बिरामीको ६० प्रतिशतभन्दा बढी पैसा औषधि किन्दा सकिन्छ । कमजोर आर्थिक अवस्था भएकाहरु नै बढी जलनको समस्यामा पर्छन् । उपचारमा पटक–पटक शल्यक्रिया र मंहगो औषधि लाग्ने हुँदा उनीहरुको सर्वस्व सकिने अवस्था आउँछ ।
सरकारले जलनका बिरामीलाई उपचारमा सहुलियत दिने गरेको छैन । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जलनका बिरामीलाई एक लाख सहुलियत दिने घोषणा गर्नु भएको छ । डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्नुहुँदै स्वास्थ्यमन्त्री पौडेलले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग सरकारले उपलब्ध गराउने व्यवस्था गर्ने बताउनुभएको हो ।
सरकारले क्यान्सर, किड्नीलगायतका प्राणघातक रोगका विरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका विरामीका पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिवद्धता थियो ।