काठमाडौं । एक दुई दिन यता सक्रिय भएको प्रि-मनसुनी गतिविधि फेरि धेरै दिन नटिक्ने भएको छ । यो वर्ष मे महिनामा आएर सक्रिय भएको मौसमी प्रणालीप्रति धेरै आशा गर्ने अवस्था नरहेको मौसमविद् मिनकुमार अर्यालले नेपालकभरलाई बताउनुभयो ।
उहाँले, ‘बुधबार देशका सबै पहाडी क्षेत्रमा सामान्य वदलीको अवस्था रहने भए पनि विहीबारबाट त्यो प्रणालीसमेत कमजोर भएर जाने भएका कारण नेपालको पूर्वी भू-भागबाट छिरेको न्यून चापीय प्रणालीले ल्याएको बदली समेत स्ट्रङ अर्थात् बलियो देखिँदैन ।’
मौसमविद अर्यालले भारतको विहारमा बनेको न्यून चापीय प्रणालीले निर्माण गरेको सिस्टम स्थानीय वायुका कारण बलियो भएकाले स्थानीय वायु कमजोर हुनासाथ पानी पार्नका लागि पर्याप्त नहुने बताउनु भयो । यसको अर्थ आकाशे पानीको भर परेर खेती गर्ने किसान र गर्मीबाट राहत मिल्ने आशमा रहेका क्षेत्र एवं वर्गले सोचें अनुसार पानी नपर्न सक्छ ।
हिउँदयामको लामो खडेरी र बढ्दो तापक्रमले प्राताडित किसान तथा आम नागरिकहरुलाई हालको मौसमी प्रणालीले सोंचे अनुरुपको राहत दिन नसक्ने मौसमविदहरुको अनुमान छ । स्थानीय वायु सक्रिय हुने अनुमानले मंगलबार कर्णाली र कोशी प्रदेशमा भारी वर्षाको अड्कल गरिए पनि ठ्याक्कै यहि हुन्छ भनेर भन्न नसकिने मौसमविद् अर्यालले बताउनुभयो ।
उहाँका अनुसार यस्तो बेला हिमाली क्षेत्रमा खास पानी पर्दैन, स्थानीय वायुको सक्रियता अनुसार पहाड र तराई क्षेत्रमा आंशिक देखि मध्यम तथा छिटपुट स्थानमा बाक्लो वर्षाको सम्भावना रहन्छ । यो वर्ष अप्रिल र मार्चमा पानी पर्न सकेन । जस कारण खडेरीको सामना गरिरहननु परेको छ ।
प्रिमनसुनी गतिविधिले मनसुन भित्रिने सम्बन्धमा पूर्व संकेत गर्ने भए पनि अहिलेको सिस्टमले पछि आउने सिस्टमसँग कुनै सम्बन्ध नराख्ने उहाँको भनाइ छ । मनसुन भित्रिनलाई बंगालको खाडीबाटै प्रणाली आउनु पर्ने भएका कारण अहिलेको सिस्टमले मनुसुनी सिस्टमलाई प्रभाव नपार्ने मौसमविज्ञ अर्यालले बताउनु भएको छ ।
तीन दिने मौसम विश्लेषण अनुसार २७ गते विहिबारसम्म पश्चिमी वायु, भारतको विहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभाव र स्थानीय वायुको सक्रियताले आंशिक तथा साधारण बदलीको अवस्था रहिरहने छ ।