काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङमाथि अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त सहकारीका सञ्चालक बोधविक्रम थापाका तर्फबाट परेको जाहेरी दर्ता गर्दै ठगी प्रकरणमा जोडिएका गुरुङ र गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ तथा सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध अनुसन्धान अघि बढाएको जनाएको छ ।
सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङसँग कांग्रेस नेता धनराजले २०७६ मै सम्बन्धविच्छेद गरेको भन्दै आफ्नो संलग्नता इन्कार गर्दै आएको बताइएको छ । ज्योति गुरुङ, ठगीमा संलग्न अर्का आरोपित ज्योतिबहादुर भण्डारीसहितका व्यक्ति भने हाल फरार रहेको बताइन्छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले सहकारीका सञ्चालकबाट परेको जाहेरी, वाग्मती प्रदेश सरकार र ललितपुर महानगरपालिकासँग समन्वय गरेर ठगी प्रकरणमा अनुसन्धान थालिएको बताउनुभयो ।
कांग्रेस उपसभापति गुरुङकी पूर्वपत्नी ज्योति गुरुङसहितका व्यक्ति मिलेर सहकारीको १४ करोड रुपैयाँ ठगी गरेको आरोपमा सोही सहकारीका सञ्चालक थापाले सीआईबीमा जाहेरी दिनु भएको थियो । सहकारी ठगीसम्बन्धी व्यक्तिगत रूपमा आएका जाहेरी दर्ता नहुने भन्दै सीआईबीले सम्बन्धित स्थानीय तह, प्रदेश सरकार वा संघ मातहतको सहकारी, सरकारी, संसदीय छानबिन अध्ययन प्रतिवेदनका आधारमा मात्रै अनुसन्धान गर्न सकिने जनाएको थियो ।
सर्वसाधारणको बचत अपचलनको विषयमा अनुसन्धान नगरेकामा प्रहरीको पनि आलोचना हुँदै आएको थियो । तर, सीआईबीले ठगीसम्बन्धी प्रारम्भिक अध्ययनपछि ललितपुर महानगरपालिका र वाग्मती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयसँग समन्वय गरेर शुक्रबारबाट यो प्रकरणमा औपचारिक रूपमा अनुसन्धान सुरु गरेको हो ।
सीआईबी प्रवक्ता एसपी बोगटीले जाहेरीमाथि प्रारम्भिक अध्ययन गर्दा सहकारीको रकम अपचलन भएको र यसमा सहकारीका सञ्चालक र कर्मचारीहरू संलग्न रहेका यथेष्ट प्रमाण देखिएकोले ललितपुर महानगर र वाग्मती प्रदेश सरकारको समेत सहयोगमा अनुसन्धान सुरु गरिएको बताउनुभयो ।
भदौ ६ मा मितेरी सहकारीका सञ्चालक समिति अध्यक्ष कुम्भराज गुरुङले सहकारी ठगी प्रकरणमा कांग्रेस नेता गुरुङकी पत्नी ज्योतिसहितका व्यक्ति पनि संलग्न रहेको र यो विषयको जानकार नेता गुरुङ पनि भएको भन्दै सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिमा खुलाएपछि उक्त ठगी बाहिरिएको थियो । र, यस प्रकरणको खोजबिन हुँदा ज्योति र कास्कीका ज्योतिबहादुर भण्डारीसहितका व्यक्ति मिलेर २०७५ बाट सहकारीको बचत अपचलन गर्न थालेको र अहिले हिनामिना भएको रकम १२ करोड पुगेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।