काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र प्रदान गर्नुभएको छ । शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बिच राष्ट्रपति पौडेलले सुरेन्द्र र सुसनले गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
सुरेन्द्र र सुसनले विश्वमै पहिलो पटक उच्चतम स्थानमा डान्स कोरियोग्राफी गर्नुहुँदै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा आफ्नो नाम दर्जा गर्नुभएको हो ।
सोलुखुम्बुस्थित काला पत्थरमा पाँच हजार ४४१ मिटर (१७,८५१ फिट) उचाइमा १९ मे २०२४ (नेपाली मिति जेठ ६) मा यस कीर्तिमान प्रयासलाई सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो । उहाँहरूले प्रस्तुत गरेको नृत्य ‘मन मगन’ बोलको गीतमा साढे दुई मिनेट लामो थियो । यो रेकर्ड नेपाललाई विश्वमा चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो ।
सुरेन्द्र र सुसनले भन्नुभयो, “हामीले यो कीर्तिमानी प्रयास हिमाली क्षेत्रको संरक्षण, जैविक विविधता र नेपालको पर्यटनको प्रवर्द्धनका लागि गरेका हौँ ।’’
उक्त प्रयासमा सुरेन्द्र र सुसनलाई विभिन्न कलाकार र फोटोग्राफी तथा भिडियोग्राफीको टिमले सहयोग गरेको थियो । फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिनुभएको थियो ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड, र खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको स्वीकृतिमा गरिएको यो कीर्तिमान कार्यक्रम गिनिज वर्ल्ड रेकर्ड्सका नेपाल प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा सम्पन्न भएको हो ।