काठमाडौं । प्रतिनिधि सभाको बजेट अर्थात् बर्खे अधिवेशन १३० दिन चलेर अन्त्य भएको छ । गत वैशाख २८ गते सुरु भएको अधिवेशन सोमबार (भदौ३१) राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरिएको हो । छपन्न दिनमा ५६ पटक बैठक बसेको संसद् सचिवालयले जनाएको छ ।
२०६ घण्टा २५ मिनेट संसदीय काम कारबाहीमा संसद् व्यतित भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो । यो अवधिमा संघीयसंसद्को दुवै सदनको संयुक्त बैठक जम्मा दुईपटक बैठक बसी तीन घण्टा ५५ मिनेट समय व्यतित भएको थियो ।
बजेट अधिवेशनमा बजेटसँग असम्बन्धित दुई विधेयकसहित ६ विधेयक पारित भएका छन् । संसद् सचिवालयका अनुसार ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक जेठ १३ गतेको बैठकबाट पारित भएको थियो । ‘विनियोजन विधेयक, २०८१, असार ११ गते बहुमतबाट पारित भएको थियो ।
त्यस्तै, आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ भन्सार महसुल विधेयक असार १६ गते प्रतिनिधिसभा बैठकबाट पारित भएको थियो । बजेट अधिवेशनमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक साउन ३० गते प्रतिनिधिसभाको बैठकबाट पारित भएको थियो ।
यो अधिवेशनका दौरान प्रतिनिधि सभामा आठ वटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएको थियो । जसमध्ये तीन विधेयक समितिमा विचाराधीन छन् । प्रतिनिधिसभाको पहिलो, दोस्रो र तेस्रो अधिवेशनमार्फत प्राप्त सरकारी र गैरसरकारी जम्मा १३ वटा विधेयकमध्ये सात विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेको जनाइएको छ ।
‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलोसंशोधन) विधेयक’ र ‘बैंकिङ कसुर तथा सजाय (दोस्रोसंशोधन) विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेस भएको छ । ‘राजनीतिक दलसम्बन्धी (दोस्रोसंशोधन) विधेयक, २०८०’ लाई सरकारले सभाको सहमतिमा फिर्ता लिएको छ ।
प्रतिस्थापन विधेयकको रूपमा दर्ता भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलोसंशोधन) विधेयक, २०८०’ समयमै पारित नभएको कारण र ‘औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक, २०८०’ सम्बन्धी गैरसरकारी विधेयकका प्रस्तुतकर्ता सदस्य मन्त्री भएका कारण स्वतः निष्क्रिय भएको जानकारी बैठकमा गराइएको छ ।
यस्तै, राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभामा प्राप्त ‘सुरक्षित कारोबार (पहिलोसंशोधन) विधेयक, २०८१’ सम्बन्धित समितिमा विचाराधीन रहेको सभामुख घिमिरेले बैठकमा जानकारी दिनुभयो ।