काठमाडौं ।आज माता तीर्थ औँसी,आम नेपाली समाजको बुझाईमा चैं आज आमाको मुख हेर्ने दिन हो । ज्योतिषीहरुको भनाईमा चैं आजको तिथीले देवलोक, पितृ लोक र पृथ्वी लोक सबैतिर जोड्न सक्ने यो एउटा सेतु पनि हो । आज आमा हुनेहरुले आमालाई मिठो खुवाउने, सकेको उपहार दिने चलन हाम्रो समाजमा छ । आमा नहुनेहरुले चैं घरमै वा नजिकको तिर्थ स्थलमा गएर आमाको नाममा श्राद्ध गर्ने वा आमाको सम्झनामा दान दक्षिणा दिने चलन पनि छ । आज हामीले मातृ औँसी एवं मातृ दिवस अवसरमा चैं एकपटक नेपाली चलचित्र उद्योगको ईतिहास पल्टाउन खोज्दैछौं ।
आमा धर्ति हुन् । आमा जननी हुन् । आमा ममताकि खानी हुन् । जन्माउने आमा । संसार देखाउने आमा । संसार बुझाउने आमा । पाईला चाल्न सिकाउने आमा । ताते ताते गर्दै बढाउने आमा । देवी शक्ति स्वरुपा आमा । हाम्रा हरेक ईच्छा पुरा गरिदिने आमा । उनै आमालाई केन्द्रबिन्दुमा राखेर बन्यो चलचित्र आमा । यो लगभग आज भन्दा ६ दशक अघिको कुरा हो । तत्कालिन राजा महेन्द्रको ईच्छा अनुसार २०२२ सालमा सिनेमा आमाको घोषणा गरियो । २०२२ सालमा आमा चलचित्रसँगै नेपाली चलचित्र उद्योगको पहिलो पर्दा खुल्यो । आमा सिनेमा मात्रै बनेन, नेपाली चलचित्र उद्योगको लागि आमा नै पहिलो सिनेमा भयो । अनि शुरु भयो नेपालमा सिनेमा संसार आखिर कस्तो थियो होला सिनेमा आमा ? को को थिए होलान पर्दामा । आज हामी तपाईको यो जिज्ञासा पनि मेटाउँदैछौं ।
नेपाली सिनेमा आमा हिरासिंह खत्रीद्वारा निर्देशित पहिलो चलचित्र हो । यो सिनेमा आमाको कथा दुर्गा श्रेष्ठ र चैत्य देवीले लेखेका थिए । रोयल नेपाल फिल्म कर्पोरेशनको उत्पादनको रुपमा यस चलचित्रलाई महेन्द्र वीर विक्रम शाहले प्रस्तुत गरेका थिए ।
चलचित्र आमाका नायक शिवशङ्कर मानन्धर हुन् । नायीकाको रुपमा यस सिनेमामा भुवन चन्दलाई हेर्न पाईन्छ । यो बाहेक सिनेमाको प्रमुख भूमिकामा वसुन्धरा भुसालको अभिनय छ । निर्देशक हिरासिंह खत्री आफैंलाई पनि यो सिनेमामा देख्न पाईन्छ । नाट्यर्की हरिप्रसाद रिमाललाई सहायक भूमिकामा राखिएको छ ।
नेपालको पहिलो सिनेमा आमामा नेपाली सेनामा काम गरेपछि घर फर्केका युवाको कथा देखाउन खोजीएको छ । देश भन्दा ठुलो अरु कोहि हुन सक्दैन भन्ने संदेश आमाको मुल कथा हो । तत्कालिन राजा महेन्द्रको आग्रहमा हिरासिंह खत्रीले निर्देशन गरेको यस चलचित्रको धेरै जसो छायाङ्कन भारतको कोलकातामा गरिएको थियो । छायाङ्कन पछिको पोष्ट प्रडक्सनको काम पनि भारतमै भएको हो । नेपालमा नै निर्माण गरिएको पहिलो चलचित्रको रूपमा दर्ता गरिएको छ ।
अब थोरै थप कथाको पनि कुरा गरौं । यस चलचित्रका पात्र हर्कबहादुर एक जडैँया हुन् । जो आफ्नी श्रीमतीसँग शारीरिक दुर्व्यवहार गर्छन् । जाँड रक्सिकै कारण हर्कबहादुर दिन दिनै ऋणमा फँस्दै जान्छन् । उनले ऋण तिर्न सक्दैनन् । उनको घर बन्धकको रूपमा राखिएको हुन्छ । यत्तिकैमा घर साहुले खान खोज्छन् । घरलाई लिइने कुरा निस्कदा उनले आफ्नी श्रीमतीलाई मादक पदार्थ सेवन गर्दीन अवदेखी छोड्छु भनेर वाचा गर्छन् ।तर रक्सिको लत बसेका हर्कबहादुर एकैछिन पछि मादक पदार्थको सेवन गरी घर फर्कन्छन् र आफ्नी श्रीमतीलाई कुट्न थाल्छन् । तर त्यँही बेला उनलाई चट्टानले लागेर मृत्यु हुन्छ। उनको मृत्यु पछि उनका छोरा मानबहादुर(शिवशङ्कर) घर छोडी सेनामा भर्ती हुन्छन्।दुई वर्ष पछि विदेशी सेनामा काम गरेर मानबहादुर घर फर्कन्छन् तर आफ्नी आमालाई देख्दैनन्। उनकी आमाको मृत्यु भएको थाहा भएपछि उनले नेपाल छोड्ने निर्णय गर्छन् तर उनका छिमेकीहरूले (जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी )भन्दै उनलाई आफ्नो समाजको सेवा गर्ने सल्लाह दिन्छन्। अन्ततः मानबहादुरले छिमेकीहरूको सुझाव मानी देशमा बसि केही गर्न निर्णय लिन्छन् ।
यसको शीर्षक र चलचित्रको विषयवस्तुले एक अर्काको पूरकको रूपमा काम गरेको हुनाले यो चलचित्र सार्वजनिक गरेपछि नै रातारात लोकप्रिय बन्यो। मिग्युलका फिलिप क्रायन मार्शलले भनेका थिएँ ,आमा स्पष्ट रूपमा नै राष्ट्र निर्माण गर्ने साधन थियो। दौरा सुरुवाल र ढाका टोपी लगाएका पुरुष र सारी र चोलो लगाएकी महिलाका साथै विश्वव्यापी रूपमा राष्ट्रिय एकता झल्काउने प्रतीकको रूपमा प्रयोग गरिने आमाको पवित्र छविद्वारा राष्ट्रियवाद र देशभक्तिका विषयवस्तुलाई दर्शाउन खोजिएको थियो, जसमा यो सफल पनि भयो ।
यो चलचित्र हेर्नको लागि यँहा लिंकमा दबाउनुहोस्