काठमाडौं । न्याय माग्दा माग्दै प्राणउत्सर्ग गरेका नन्दप्रसाद अधिकारीको शव त्रिवि शिक्षण अस्पतालको ‘बडी ब्याग’मा थन्किएको १० वर्ष पूरा भई ११ वर्ष लागेको छ ।
३३० दिन लामो आमरण अनशनबीच ५४ वर्षको उमेरमा प्राणउत्सर्ग गरेका नन्दप्रसादको शवले सद्गत मागिरहेको छ, तर त्यसभन्दा अघि उनको आत्मालाई न्याय चाहिएको छ । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै न्यायका लागि घरबार त्यागेर काठमाडौं छिरेको नन्दप्रसादको परिवार नै छिन्नभिन्न भएको छ ।
सँगै अनसनरत धर्मपत्नी गंगामाया अधिकारी अहिले पनि न्यायका लागि संघर्ष गरिरहनु भएको छ । जेठा छोरा नूरप्रसादलाई राज्यले पटक–पटक जेल पठाएको छ । आफ्नै हातले न्वारन गरेका नाती र बुहारी गंगामायाको साथमा छैनन् । कृष्णप्रसादको हत्यामा संलग्न भनी किटानी जाहेरी परेका १३ जनामध्ये १२ जनाले सफाइ पाइसकेका छन् भने रुद्र आचार्यको मुद्दा मुल्तवीमा छ । जिल्ला अदालत चितवनले गरेको फैसलाउपर सरकारले सर्वोच्चमा पुनरावलोकन हालेको छ तर, हालसम्म कुनै सुनुवाई भएको छैन ।
चितवन रत्ननगरमा रहेका हजुरबुवा-आमा भेटन पुगेका कृष्णप्रसादलाई २४ जेठ २०६१ मा तत्कालीन माओवादीले कार्यकर्ताले अपहरणपछि बकुलहर चोकमा हत्या गरेको भन्दै निकै लामो संघर्षपछि नन्दप्रसादले नै १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
नन्दप्रसादको निधनलाई दुःखद भनेको राज्यले अहिलेसम्म न्यायका लागि कुनै पहल कदमी उठाएको छैन । तत्कालीन विद्रोहीले यसलाई द्वन्द्वकालीन मुद्दामा गणना गर्नु पर्ने भन्दै नियमित अदालतमा भए गरेका कारबाही मान्य नहुने बताउँदै आएको छ ।
प्रतिनिधि सभाबाट हालै पारित भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक’ (टीआरसी विधेयक) राष्ट्रपतिबाट प्रमाणिकरण भए पनि दुई आयोगमा नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको छैन ।