काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेखि नेपालको मौसम थप सक्रिय हुने जनाएको छ । सोमबार साँझ विशेष बुलेटिनमार्फत विभागले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावले मौसम थप सक्रिय हुने जनाएको हो ।
विभागका अनुसार, मंगलबार दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । केही स्थानहरूमा मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भू-भाग, कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
बुधबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागका अनुसार, सुदूरपश्चिम प्रदेशका थोरै तथा कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । यसैगरी, असोज १० गते (बिहीबार)देखि असोज १२ गते (शनिबार)सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । त्यस अवधिमा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।