काठमाडौं । लेबनानमा रहेका सबै नेपाली सुरक्षित रहेको कुटनीतिक जानकारी आएको छ । लेबनान समेत हेर्ने जिम्मेवारी पाएका इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले लेबनानमा नेपाली रहेका स्थानको अवस्था सहज रहेको बताउनु भएको हो ।
‘लेबनानमा रहेका नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ । उहाँहरू सबै सुरक्षित हुनुहुन्छ,’ राजदूत लम्सालले भन्नुभयो, ‘पछिल्ला दिनमा दक्षिणी लेबनानमा तनाव बढेको छ । अधिकांश नेपाली उक्त क्षेत्रमा हुनु हुन्न ।’
इजरायलले दक्षिण लेबनानका विभिन्न स्थानमा हिजबुल्लाहको अखडा रहेको भन्दै अन्धाधुन्ध आक्रमण गरिरहेको छ । इजरायलको आक्रमणमा परी लेबनानमा पछिल्लो दुई दिनमा ४९२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली हवाई आक्रमणमा परी लेबनानमा ज्यान गुमाउनेमा ३५ बालबालिका र ५८ महिला समेत छन् । इजरायलको आक्रमणबाट एक हजार ६०० जनाभन्दा बढी लेबनानी घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दुई दिनमा इजरायलले हिजबुल्लाहका एक हजार ३०० अखडामा आक्रमण गरेको छ । लेबनानको दक्षिण भूभाग (इजरायलसँगको सीमा)लाई आधारक्षेत्र बनाएर बसेको हिजबुल्लाहले पनि इजरायलमा रकेट प्रहार गरेको छ ।
राजदूत लम्सालका अनुसार, लेबनानमा एक हजारदेखि १२ सयसम्म नेपाली कार्यरत छन् । तीमध्ये सात÷आठ सय घरेलु कामदार छन् । अरू नेपाली होटेल तथा रेस्टुरेन्ट र उत्पादन क्षेत्रमा कार्यरत छन् ।
लेबनानमा राष्ट्र संघको शान्ति मिसनमा हाल ९७७ नेपाली सैनिक खटिएका छन् । शान्ति स्थापनाका निम्ति उनीहरूलाई लेबनान–इजरायल सीमानजिक खटाइएको बताइन्छ ।