काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद स्वर्णिम वाग्लेसहितको १४ सदस्यीय भ्रमण दल चीन मै रोकिएपछि पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीमा ढिलाई भएको छ ।
पार्टीले आन्तरिक रुपमा सभापतिले गिरफ्तारी दिने निर्णय गरे पनि सोमबारै फिर्ता बोलाइएका उपसभापतिसहितको सांसद टोली टिकट नपाएर चीन मै रोकिएपछि निर्णयलाई थप आधिकारिकता दिन ढिलाई भएको हो । पार्टी सभापति एवं ससदीय दलको नेताले नै गिरफ्तारी दिनुपर्ने भएपछि संसदीय दलको राय पर्खिएको बताइएको छ ।
रास्वपाका नेता तथा सांसदहरु बुधबार मात्रै चीनबाट फर्कने भएका छन् । नेता एवं सांसदहरूले बुधबारको मात्रै टिकट पाएकाले फर्कन ढिला भएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो ।
रास्वपा उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल, डा. तोषिमा कार्की, मनिष झा लगायत १४ सांसद तथा नेता चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणमामा चीन भ्रमणमा जानु भएको हो ।
आइतबार गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवम् ३५ प्रतिशत सेयरधनी छविलाल जोशी पक्राउ पर्नासाथ पार्टी सभापति रवि लामिछाने पनि समातिने आशंकामा रास्वपाले आकस्मिक कार्यकर्ता भेला बोलाएर चीन भ्रमणमा रहेको टोलीलाई सोमबारै फर्किन निर्देशन दिएको थियो ।
आकस्मिक कार्यकर्ता भेलाले चीनमा रहेका नेता तथा सांसदलाई यथाशक्य चाँडो फर्कन आग्रह गर्दै पार्टी सभापति पक्राउ परे प्रतिवाद गर्न उर्दी दिएको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा शनिबार राति रास्वपा उपसभापति स्वर्णिम वाग्लेसहित सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, डा. तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन जानु भएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको तर्फबाट औपचारिक रूपले आएको पहिलो निम्तोमा रास्वपाका ७ जना सांसद र ७ जना नेता त्यसतर्फ जानु भएको हो । १० दिने भ्रमण तालिका रहेकामा उहाँहरूले तीन प्रान्तको अवलोकन र द्विपक्षीय अन्तरक्रिया गर्ने कार्यक्रमहरु समावेश थिए ।