काठमाडौं । सर्वोत्तम सिमेन्टले ऐन नियम विपरीत वित्तीय विवरण लुकाएको थाहा हुन आएको छ । सर्वोत्तमले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक नगरी सोझै तेस्रो त्रैमाससम्मको एकमुष्ठ रिपोर्ट सार्वजनिक गरेको हो । नेपाल धितोपत्र बोर्डसँग मिलेमतो गरेर बुक बिल्डिङमा आईपीओ निष्कासन गरेको सर्वोत्तमले गएको असार मसान्तसम्मको वित्तीय विवरण गत पुसमा आएर सार्वजनिक गरेको थियो ।
वित्तीय विवरणमा कम्पनीको नाफा ५५ प्रतिशतले घटेर २० करोड रुपैयाँमा खुम्चिएको थियो । वैशाख १२ गते वार्षिक साधारण सभा गरेर ६९ करोड ७५ लाख रुपैयाँ लाभांश वितरणको प्रस्ताव पारित गरेको कम्पनीले त्यो पनि शेयरधनीसँगै लिएको प्रिमियमबाट दिन लागेको बुझिएको छ । जुन आफैंमा गैरकानूनी मानिन्छ ।
राज्य शक्तिसँगको पहुँच दुरुपयोग गरिरहेको सर्वोत्तमका अगाडि नियामकले आँखा चिम्लिने गरेको छ । वित्तीय विवरण समयमा प्रकाशित नगरेर ६९ करोड रुपैयाँ मुनाफा वितरण गर्नुले नियामक निकायलाई ठगेको वा मिलेमतोमा यस्तो गरेको हुनसक्ने आशंका गरिएको छ ।
दोस्रो बजारमा लगानीकर्ताले कम्पनीको वित्तीय रिपोर्ट हेरेर लगानी गर्ने गर्दछन् । तर, कम्पनीले लगानीकर्ताको आँखामा छारो हालेर छलछाम गर्ने गरेको देखिन्छ । वित्तीय रिपोर्ट लुकाएको बारे कम्पनीसँग सोध्दा प्रकाशन नभए कै जानकारी दिएको छ । दुई त्रैमाससम्मको वित्तीय रिपोर्ट तयार रहेको र प्रकाशन मात्र नभएको जानकारी कम्पनीले दिएको हो ।
पब्लिक कम्पनी भएर लगानीकर्तालाई वित्तीय रिपोर्ट नै नदेखाउने प्रवृत्ति बेइमानी भएको अर्थविज्ञहरुले बताएका छन् । चालु आर्थिक वर्षको वित्तीय रिपोर्ट नाजुक हुँदा कम्पनीले सार्वजनिक नगर्ने निर्णय गरेको सर्वोत्तम सिमेन्टले जनाएको छ । लुकाइएको दुई त्रैमासमा कम्पनीको अधिकांश सूचक खराब अवस्थामा थिए । बुक विल्डिङको आईपीओमा आम नागरिकलाई ब्ल्याकमेल गर्नका लागि खराब सूचक समेतको वित्तीय विवरण सार्वजनिक नगरेको बताइएको छ । नेप्सेमा सूचीकृत भएपछि बाध्यात्मक अवस्थाले मात्रै रिपोर्ट सार्वजनिक गरिएको बताइँदै छ ।
सर्वोत्तम सिमेन्ट नेपाल स्टक एक्सचेन्ज नेप्सेमा वैशाख महिनामा मात्रै सूचीकृत भएको हुँदा अन्य त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक नगरेकोमा कारबाही गर्न नमिल्ने धितोपत्र बोर्ड सुपरीवेक्षण विभागका अधिकारी रुपेश केसीले बताउनुभयो । उहाँले, ‘कम्पनीले अहिले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको विवरणमा गत आर्थिक वर्षको समेत वित्तीय अवस्था खुलाएको छ । अब सबै त्रैमासको सार्वजनिक नगरे भने कारबाही हुन्छ’ भन्नु भएको छ ।
धितोपत्र बोर्ड अहिले अध्यक्षविहीन छ । नयाँ अध्यक्ष आउनासाथ सर्वोत्तम सिमेन्टको फाइल खोतल्ने हो भने कम्पनीको वास्तविकता बाहिर आउने पक्का छ । गैर कानूनी रूपमा जारी गरेको बुक बिल्डिङ आईपीओमाथि धेरै निकायमा छानबिनकै क्रममा रहेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्ममा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब ५५ करोड ९० लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४६ पैसा पुगेको छ । तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्क २१२ रुपैयाँ ७३ पैसा रहेको छ । लगानीकर्ताबाट ठूलो रकम असुलेको कम्पनीको प्रतिशेयर आम्दानी भने नाजुक अवस्थामा रहेको छ ।