काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकाङ्क’ सार्वजनिक गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकाङ्क’ सार्वजनिक गर्ने बताएको हो ।
राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्कको लागि यसअघि २०७१/७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएकोमा अब परिवर्तन गरी यो वर्षबाट २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्न लागेको बताइएको छ ।
राष्ट्र बैंकले उपभोगको प्रवृत्ति, मूल्य सङ्कलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्यभार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यताअनुसार आधार वर्ष परिवर्तन गरेको जनाएको छ ।
पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा हटाउनुपरेका कारण आधार वर्ष परिवर्तन भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभयो । उहाँले परिवर्तन गर्न खोजेका कुरा अहिले नै पूर्ण नहुने भन्दै परिवर्तन निरन्तरको प्रक्रिया भएको बताउनुभयो ।
उहाँले उपभोक्ता मूल्य सूचकाङ्कमा केही तल माथि भए आगामी दिनमा सुधार गर्दै लैजाने बताउनुभयो । उहाँले उपभोक्ता मूल्य सूचकाङ्क मार्केट सेन्टर बढेर गएका, ५० जिल्ला मात्रै समेटिएकोमा अहिले सबै जिल्ला समेटिएको भएको समेत बताउनुभयो । उहाँले ४९६ वस्तुहरुको मूल्य सङ्कलन गरिने भए पनि अहिले ५२५ बनाइएको जानकारी दिनुभयो ।
उहाँले ‘उपभोक्ता मूल्य सूचकाङ्क’ उपभोगको प्रवृत्ति भएको परिवर्तन र समयानुकूलका मूल्यलाई पनि समावेश गराएर डाइनामिक बनाउन खोजिएको बताउनुभयो । संघीय संरचनाअनुसार तथ्याङ्क सङ्कलन गर्न आधार वर्ष परिमार्जन भएकाले नयाँ आधार वर्षमा उपभोक्ता मूल्य सूचकाङ्क गणनामा परिमार्जन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
त्रिभुवन विश्वविद्यालय तथ्याङ्क विभाग, केन्द्रीय तथ्याङ्क कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकाङ्क तयार गरेको हो । राष्ट्र बैंकका अनुसार १ लाख २ हजारभन्दा बढी मूल्यका भार अङ्कसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकाङ्क निकालिन्छ । ५ सय २५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकाङ्क निकालिने गरेको जनाएको छ ।