काठमाडौं । गएको वर्ष पुसबाट फैलिएको डेंगु असोजमा आइपुग्दा ७६ जिल्लामा फैलिएको छ । यसरी नै बढ्दै गएमा दसैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा १२ हजार ६४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जनाको मृत्यु भएको छ ।
ईडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले कास्कीमा सबै भन्दा बढी सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि तनहुँ, काठमाडौँ र पर्वतमा सबैभन्दा धेरैमा सङ्क्रमण देखिएको छ ।
दाहालका अनुसार कास्कीमा एक हजार ९०३, तनहुँमा एक हजार ६४५, काठमाडौँमा एक हजार ५४०, पर्वतमा एक हजार ११० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
त्यसैगरी, चितवनमा ७३३, गोरखामा ४५१ ,ललितपुरमा ३४७, बागलुङमा २८५, स्याङ्जामा २३४, कैलालीमा २१५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिनुभयो ।
प्रदेश अन्तर्गत गण्डकी, बागमती र कोशी प्रदेशमा सबै भन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा पाँच हजार ९७१, बागमती प्रदेशमा तीन हजार ६०२, कोशी प्रदेशमा एक हजार १९३ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी, लुम्बिनी प्रदेशमा ८१९, कर्णाली प्रदेशमा १७३, मधेश प्रदेशमा २४५ र सुदूरपश्चिम प्रदेशमा ६३८ जनामा डेंगु पुष्टि भएको छ ।
अझै तीन सात डेंगुको जोखिम कायमै रहेकोले सचेत रहन डा. दाहालको आग्रह छ ।