काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले शुक्रबार ४५औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा गरेको योगदानबारे चर्चा गर्दै यसो भन्नु भएको हो ।
हालको परिस्थिति सन्तोषजनक नरहे पनि आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने उहाँले बताउनुभयो ।
‘पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको छ । कूल ग्राहस्थ उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउन सकिन्छ ?’ उहाँले भन्नुभयो, ‘पर्यटन क्षेत्रमा काम गर्दा परेको अप्ठ्यारो पहिचान गरेर सरकारले हटाउँछ । सहज रुपमा व्यवसाय गर्नसक्ने अवस्था सरकारले बनाउनेछ ।’
कार्यवाहक प्रधानमन्त्री सिंहले नेपाल साहसिक पर्यटन, ट्रेकिङ, हिमाल आरोहण, स्काई डाइभिङका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको भन्दै यसमा के गर्दा राम्रो हुन्छ त्यसमा लाग्नुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रमा सक्रिय निजी क्षेत्रले आफ्नो व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था बनाउनका लागि सरकारले ध्यान दिने प्रतिवद्धता जनाउनुभयो ।
फरक सन्दर्भमा सिंहले देशमा परिवारसँगै बसेर आर्थीक जीवन उकासने वातावरण बनाउन सरकार लागिरहेको उहाँले बताउनुभयो । अस्थिरताका कारण देशमा समस्या देखिएकैले अहिले राजनीतिक स्थायित्वका लागि संसदका दुई ठुला दल मिलेर सरकार बनेको भन्दै उहाँले सरकार जनताको पक्षमा सशक्त रुपमा अघि बढ्ने दृढता व्यक्त गर्नुभयो ।