काठमाडौं । आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार मंसिर २ गते विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । आयोगका अनुसार त्यही दिन बेलुकी ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
यस्तै, उम्मेदवारको विरोधमा उजुरी दिने समय भोलिपल्ट अर्थात् मंसिर ३ गते दिउँसो ३ बजेसम्म रहने बताइएको छ । मंसिर ४ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका आयोगले बनाएको छ ।
मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर त्यही दिन निवार्चन चिन्ह प्रदान गरिने बताइएको छ । देशभरका स्थानीय तहमा ३९ पद रिक्त छन् । जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३, नगरप्रमुख १, उपप्रमुख १ र वडाध्यक्ष ३० जना चयन गर्न मंसिर १६ गते निर्वाचन हुन लागेको हो ।
ओखलढुंगा र कैलालीमा जिसस प्रमुख रिक्त छ भने काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेख महाबु गाउँपालिकामा अध्यक्ष पद रिक्त छ ।
यस्तै, जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, दोलखा गौरीशंकर गाउँपालिका, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका तथा हुम्ला सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पद रिक्त छ । दुई वर्षअघि २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन भएको थियो ।
स्थानीय तह निर्वाचन ऐन २०७३ मा विभिन्न कारणले रिक्त हुन पुगेका पदको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा उपनिर्वाचन गर्नु पर्ने व्यवस्था छ ।