बिकम पास गरेपछि चार्टर एकान्टेन्सी कोर्ष हुन्छ भन्ने साथीभाइबीच चर्चा भयो । यो चर्चासँगै नवराज बुर्लाकोटीसहित ४ जना चार्टर एकान्टेसी कोर्षमा सहभागी हुन भारतको दिल्ली गए । दुईजना बीचबाटै फर्किए तर बुर्लाकोटी र अर्का एकजनाले कोर्ष पूरा गरेर फर्किनु भयो । त्यसपछि सुरु भएको हो, प्राइम सिए ।
२० वर्षअघि ३२ जना विद्यार्थीबाट सुरु भएको प्राइम सिए अहिले ३२ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । सिए पढ्न के कस्ता योग्यता चाहिन्छ, पढेपछि यसको भविष्य कस्तो छलगायतका विषयमा प्राइम सिएका संस्थापक बुर्लाकोटीसँग दिपेन्द्र खनियाँले गरेको कुराकानी:-
० प्राइम सिएको परिकल्पना कसरी आयो ?
– प्राइम सिएको परिकल्पना २० वर्ष अगाडि भएको हो । जब हामी जन्मिन्छौं, हुर्कन्छौं, बढ्छौं, साथीसंगत हुन्छ, विभिन्न ठाउँमा घुम्छौं । हाम्रा यी अनुभवहरुले परिकल्पनाको जन्म हुन्छ । त्यही परिकल्पनाअनुसार हामी अगाडि बढ्दै जान्छौं ।
२० वर्ष अगाडि चाटर्ड एकाउन्टबारे खासै ज्ञान थिएन । मैले भारतको दिल्लीमा सिए पढेर नेपाल आएँ । पढ्न जाँदा भाषा, देश, संस्कृति सबै मिस हुन्थ्यो । अरुको तुलनामा हाम्रो खर्च पनि बढी नै हुन्थ्यो ।
सिएको व्यवसायिक क्षेत्रमा महत्व छ, आर्थिक क्षेत्रमा यसले योगदान दिन सक्छ । हाम्रो देशमा पनि यस्तो संस्थाको आवश्यकता छ । यो संस्था हामीले आफ्नै देशमा बनाउन सकियो भने नेपाली पैसा बाहिरिने थिएन, अर्थतन्त्रमा पनि सहयोग पुग्ने थियो । पढाउने मलाई प्यासेन थियो, त्यसैले एउटा संस्था खोल्नुपर्छ भन्ने लाग्यो ।
संस्था खोल्ने । कहाँ, कसरी खोल्ने ? यी प्रश्नको जवाफ खोज्नेक्रममा दुई चार दिन चर्को घाममा भौतारियो । बानेश्वरको एउटा घरमा फ्लयाट भेटियो । जहाँ ३ वटा कोठा थियो, त्यसमध्ये एउटा अफिसका लागि, एउटा कक्षा कोठाका रुपमा उपयोग गर्न सकिन्छ । भाडा सोधियो, मिल्दोजुल्दो लाग्यो । संस्था खोल्न सकिन्छ भन्ने लाग्यो, नाम के राख्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।
त्यत्ति बेला चार्टर एकाउन्टेन्ट पढाइ हुने सबै संस्थाको नाम चार्टरबाट सुरु हुन्थ्यो । त्यही चार्टरको अगाडि प्राइम थपेर किन प्राइम चार्टर नराख्ने ? भनेर हामीले प्राइम चार्टर संस्थाको सुरु गरेका हौं । फ्याट बुक गर्दा मसँग खासै पैसा थिएन । जति थियो, त्यत्ति घरबेटीलाई बुझाएर फ्लयाट बुक गरियो । त्यही कोठामा बसेर नामाकरण गरियो, कम्पनी पनि त्यही बसेर गरियो ।
० सिएको संस्था खोल्छु भनेर के कुराले प्रेरित गर्यो ?
– बिकम पास गरिसकेपछि मात्र सिए व्यवसाय हुन्छ भन्ने थाहा पाएको हुँ । भारतमा सिए पढेर आएपछि यो महत्वपूर्ण विषयका बारेमा थाहा भयो । इञ्जिनियर, डाक्टरभन्दा थोरै पैसामा सिए पढ्न सकिन्छ । नेपालमा पनि यस्तो पढाइ सुरु गर्दा पढ्ने वातावरण बन्छ, थोरै पैसामा धेरैले पढ्न पाउँछन् भन्ने उद्देश्य हाम्रो थियो ।
त्यसबेला चार्टर एकाउन्टको फाइनल तहको क्लस नेपालमा हुँदैन थियो । म आफू भर्खर पास गरेर आएको थिएँ । पढाउने प्यासन थियो । नेपालमा आर्थिक उन्नति गर्दै जान्छ, उद्योग, कलकारखाना खुल्दै जान्छ, बैंक वित्तीय संस्था खुल्दै जानेक्रम थियो । हिसाब किताब राख्ने दक्ष जनशक्ति चाहिन्छ र त्यो यही उत्पादन गर्न सकिन्छ भन्ने सोचले नै मैले बाहिर जे देखेर आएँ, त्यही देखेर मैले कल्पना गरें त्यसपछि प्राइम सिए खोलेंको हुँ ।
० सुरुका दिन ?
– चार्टर एकान्टेन्सीमा तीनवटा तह हुन्छ । अहिले लेबल १, २, ३ भनौं, त्यत्तिबेला फाउन्डेसन, इन्टरमिडियट र फाइनल भनिन्थ्यो । अहिले क्याप १, २ र ३ भनिन्छ । यो तीनवटा तहमा हामीसँग ३२ जना विद्यार्थी थिए । त्यत्तिबेला फाइनलको परीक्षा दिएका ३ जना विद्यार्थीले पास गर्नुभयो । उहाँहरु अहिले एकदमै राम्रो पोजिसनमा हुनुहुन्छ ।
० अहिले कतिजना छन् विद्यार्थी ?
– त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिइसकेपछि बिबिएम, बिसिए, बिबिएस र एमबिएसको कोर्षहरु पनि गरिरहेका छौं । शिक्षाको सबै लेबल मिलाउँदा हामीसँग अहिले ३ हजार २ सय विद्यार्थी हुनुहुन्छ ।
बाँकी प्रत्यक्ष सुन्नुहोस्