काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिगत महत्वकांक्षाका कारण आफ्नो पार्टी टुक्रिएको बताउनु भएको छ । पार्टी विभाजनपछि बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी विभाजन भए पनि बहुमत सदस्य आफुहरुसँगै रहेको समेत बताउनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले, ‘पार्टी विभाजन गर्ने कुनै आधार नै छैन, उनीहरुले कुनै कारण नै देखाउन सकेका छैनन् । कसलाई के पुगेको छैन मलाई भनेको भए त्यो पनि दिन्थे’ भन्नुभयो । अध्यक्ष यादवले अगाडि भन्नुभयो, ‘पार्टी विभाजन गर्नेमध्ये एक जनालाई कार्यवाहक अध्यक्ष नै दिएर गएको थिए, एक जना मन्त्री नै हुनुहुन्छ, अरू सांसद नै हुनुहुन्छ, एक जना संसद्को सचेतक नै हुनुहुन्छ नपुगेको के थियो र ?’
उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहनु भएका अध्यक्ष यादवले, ‘उहाँहरूले मागेको कुरा मैले दिन सकिन तर कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो उहाँले दिँदा वा लिँदा हुन्थ्यो नि, कसले रोकेको थियो, पार्टीको कुनै पनि बैठकमा यस्ता कुराहरू उठेन, कसैले उठाउनु पनि भएन’ भन्नुभयो ।
‘पार्टीभित्र कुनै सैद्धान्तिक, वैचारिक मतभेद छैन, साङ्गठनिक मतभेद छैन, पद र जिम्मेवारी बाँडफाँटको मतभेद छैन, सरकारमा जाने आउने विषयमा मतभेद छैन भने पार्टी विभाजनको एउटै कारण हो व्यक्तिगत महत्वाकांक्षा’, उहाँले भन्नुभयो, ‘उहाँहरू विकल्कुल व्यक्तिगत महत्वकाँक्षाले पार्टी विभाजन गरेका हुन् ।’
आफू संसदीय दल, केन्द्रीय समिति, कार्यकारिणी समिति सबै ठाउँमा बहुमतमा रहेको दाबी गर्दै अध्यक्ष यादवले निर्वाचन आयोगले अवैधानिक ढङ्गले पार्टी विभाजन गराएको आरोप लगाउनुभयो ।