काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढीपहिरो पीडितलाई १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आइतबार राति बसेको संघको बैठकले बाढी प्रभावितका लागि सरकारलाई १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण विभाग प्रमुख डा. हेमराज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता संकलन गर्न निर्देशन समेत दिएको छ ।
समितिमा संघ पदाधिकारीहरू, क्षेत्रीय संयोजकहरू तथा राष्ट्रिय समन्वय परिषद् अध्यक्षहरू समेत संलग्न गराइएको छ । बैठकमा अध्यक्ष डा. बद्री केसीले राष्ट्रिय समन्वय परिषदहरूको सहकार्यमा आर्थिक सहयोग संकलन गरेर बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने उल्लेख गर्नु भएको छ ।
बैठकले विपद् प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष कृष्ण तिमल्सिना संलग्नतामा समिति गठन गरेको छ ।
समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकमा प्रस्तुत गर्ने बताइएको छ । उता, गैरआवासीय नेपाली संघले बाढीपहिरो पीडितलाई आर्थिक सहायता उपलब्ध गराउँदा नेपालका उद्योगी व्यवसायी तथा तिनका संगठनहरु भने गुमनाम छन् ।
उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर, नेपाल उद्योग परिसंघलगायतका संगठनहरु अहिलेसम्म गुमनाम बसेका हुन् । गएको वर्ष कार्तिकमा जाजरकोटमा भूकम्प जाँदा राहत घोषणा गर्नेको तँछाडमछाड भएको थियो ।
शुक्रबार राति भूकम्प गएकामा त्यो बेला आइतबारसम्ममा १२ करोड रुपैयाँ राहत निजी क्षेत्रबाट संकलन भएको थियो । अहिले सिटिजन्स बैंकले २५ लाख, महालक्ष्मी विकास बैंकले एक लाख र गैरआवासीय नेपाली संघले १ करोड दिनेबाहेक अन्यले राहत दिने सुरसार देखिंदैन ।