काठमाडौं । नेपालीमा एउटा उक्ति छ, ‘कागले कान लग्यो भन्दा कान छाम्नुको साटो कागकोपछि दौडीने’ । ठ्याक्कै त्यस्तै छ, नेपाली परिवेश र प्रवृत्ति । शनिबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अविरल वर्षाले बाढी र पहिरो एकसाथ निम्त्याउँदा ठूलो जनधनको क्षति भयो ।
त्यसबीच काठमाडौं उपत्यकामै पनि अनौठा र डरलाग्दा दृष्यहरु देखिए । ती दृष्यहरु मध्येको एक थियो, बाढीमा ग्यास उड्दै गरेको बुलेट । त्यो बुलेटलाई कसैले वर्तमान प्रधानमन्त्री केपी ओलीको पानी जहाज भने त, कतिपयले अग्निजन्य भय हुने भन्दै अनेक अड्कलबाजी गरे । कतिपय सञ्चारमाध्यमले पुलमुनि बुलेट अड्किएपछि पानीको बहाव रोकिएर त्यसैका कारण बस्तीमा पानी पसेको भने ।
ग्यास बुलेट बगाएका दृष्यहरु जताततै फैलिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समेत आयल निगमका अधिकारी बोकेर स्थलगत निरीक्षण गर्न भन्दै दौडिएर च्यासल पुग्नु भएको थियो । निरीक्षणका क्रममा मन्त्रीले समेत बाढीले गरेको क्षतिभन्दा भन्दा ग्यास बुलेटले जोखिम बढाएको अनावश्यक चिन्ता गर्नुभयो । त्यहाँ वरपर अग्निजन्य वस्तुहरुको सम्पर्क नगराउन र कसैलाई पनि नजिक नजान भन्नुभयो ।
त्यसरी राज्यले नै उक्त बुलेटलाई जोखिमको रुपमा व्याख्या गरिदिएपछि अन्यले ट्रोल बनाउने नै भए । र, आयल निगमले समेत १२ गतेसम्म पनि ग्यास बुलेटको जोखिम कायमै रहेको भनेर भन्यो ।
ललितपुरको इमाडोल हुँदै बग्ने कर्मनाशा खोलाले बालकुमारीस्थित पशुपति अटोग्यास प्रालिको ग्यास पम्पबाट बगाएको भरिभराउ बुलेट थियो त्यो । उर्लेर आएको खोलाले धार परिवर्तन गर्दा खालीजग्गा काटेर पर्खालसमेत भत्काएर सिस्टममा जोडेर राखिएको बुलेट बगाएको हो ।
आरसीसी ढलान गरेर सेट गरेको बुलेट डिस्ट्रिव्युटर पाइपबाट चुँडालेर कर्मनाशा खोलोले हुत्याउँदै मनोहरा खोलातिर ठेल्यो । मनोहराले बगाउँदै च्यासल पुर्याएको बुलेट अहिले भने थापाथलीको सुकुम्बासी बस्ती छेउको नदीबीचमा छ । बाढीले बगाएको बुलेटबाट झण्डै ११ टन ग्यास उडेर नष्ट भएको छ ।
पशुपति अटो ग्यास प्रालिका सञ्चालक बसन्तराज नकर्मीका अनुसार ४ दिन अघि मात्रै १२ टन ग्यास भरिएको थियो । सँगै रहेका दुईटा बुलेटमध्ये एउटा बाढीले चुँडेर लगेको हो । सोही बुलेटको ग्यास सिस्टमबाट काठमाडौं उपत्यकामा चल्ने ग्यास टेम्पो, मोटरसाइकल, भ्यान तथा नीलो माइक्रोहरुमा भर्ने गरिएको थियो । त्यसरी पम्पबाट ग्यास भर्दा खाना पकाउने एलपी ग्यासभन्दा प्रकावकारी र किफायती हुने प्रयोगकर्ताहरु बताउँछन् ।
बाढीले ग्यास बुलेटमात्रै बगाएन, सम्पूर्ण सिस्टम अवरुद्ध पारेको छ, सञ्चालक नकर्मी भन्नुहुन्छ, ‘कति क्षति भयो भन्ने यकिन नै गर्न सकिरहेका छैनौँ । मोटामोटी आँखाले हेर्दा १ करोड बढीको क्षति भएको देखिन्छ । गुणस्तर तथा नापतौलले ग्यास लिटरमा होइन किलोमा विक्री गर्नुपर्छ भनेर जिद्दी कसेपछि दुई वर्ष अघि मात्रै २० लाख खर्चिएर ल्याएको नयाँ मेसिनमा पुरै बाढीले काम नलाग्न बनाइदिएको छ ।’
सञ्चालक नकर्मीका अनुसार सरकारको नीतिका कारण त्यसै घाटामा चलिरहेको पम्प पूर्णरुपमा बन्द हुँदा ठूलो नोक्सान भएको छ । उहाँ भन्नुहुन्छ, ‘दुर्भाग्य भनौँ दुई तीन महिनाअघि मात्रै इन्स्योरेन्स फेल भएको रहेछ, अहिले बुझ्दा पो थाहा पाएँ ।’
काठमाडौं मात्र नभई अधिराज्यभर यही एउटै अटो ग्यास पम्प थियो । बाढीले क्षतिग्रस्त पम्प सञ्चालनमा आउने नआउने अनिश्चित छ । तर, पम्पबाट ग्यास प्रयोग गर्ने ३-४ सय वटा नीलो माइक्रो, डेढ सयजति ग्यास टेम्पो, भ्यान, मोटरसाइकलहरु मारमा परेका छन् ।
कमिसन चक्करले दिएन टाउको उठाउन
कुनै समय डिजेल र पेट्रोल गाडीले वातावरण विगार्ने जान्दा जान्दै कमिसन चक्करमा चाहिनेभन्दा बढी आयात गर्न दिएको सरकारले अहिले वातावरण जोगाउने आवरणमा अल्पायुका विद्युतीय सवारी भित्र्याउने चक्कर चलाएको छ ।
नेपालको भूबनावट, सडक संरचना र उकाली ओराली सुहाउने प्रकारका वातावरणमैत्री सवारी एसेम्बल् गर्नुको साटो सरकार अमुक सवारी क्रिकेता कम्पनीहरुको प्रलोभनमा फसेर अल्प आयुका विद्युतीय सवारी भित्र्याउन उद्दत छ । जसले अबको केही वर्षपछि नेपाल कबाडीको डम्पिङ साइड बन्ने निश्चित छ ।
कुनै समय कमिसन चक्करमा फसेर हेटौंडा टेकु रोपवे अर्थात् रज्जुमार्ग बन्द गराएका राज्य सञ्चालकहरुले नेपालको परिवेश सुहाउँदो वातावरणमैत्री ग्यास गाडीहरुलाई निमिट्यान्न पारेको दृष्टान्त हेर्न अन्त कतै जानु पर्दैन । शनिबार बाढीले बगाएको ग्यास बुलेटको वास्तविकता थाहा पाए पुग्छ ।
कुनै समय भ्याली अटो ग्यास प्रालिका नाममा गोपीकृष्ण र कलंकीको खसी बजार तथा पशुपति अटो ग्यास प्रालिका नामबाट ललितपुरको बालकुमारी र बालाजु बसपार्क छेउमा गरी चार वटा अटो ग्यास पम्प थिए । जो राज्य सञ्चालक र विचौलियाबीचको कमिसन चक्करको सिकार भए । अहिले उपत्यका मात्रै नभई देशभरीमै जम्मा एउटा अटो ग्यास पम्प बाँकी छ । जुन ती चारवटा पम्पमध्येको एक हो, बालकुमारीस्थित पशुपति अटोग्यास प्रालिको क्षतिग्रस्त पम्प ।
कुनै समय वातावरण संरक्षण ऐनले वातावरणमैत्री भनेको र पेट्रोलियम गाडीहरुको तुलनामा कयौँ गुणा भरपर्दो र किफायती भनिएको ग्यास गाडीलाई तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले प्रोमोसन गर्नुपर्ने भनेको थियो । त्यसबेला गिरिजा आफैंले पनि ग्यास टेम्पो चढेर महानगर परिक्रमा गर्नुभएको थियो ।
जब, विदेशी गाडी विक्रेता कम्पनीका एजेन्सीको हालीमुहाली चल्यो त्यहाँदेखि ग्यास गाडी सम्बन्धी नीतिहरु सरकारले अघि बढाएन । छिमेकी चीनलगायत विकसित देशहरु अहिले पनि ग्यास गाडीलाई वातावरणमैत्री भनी प्रयोगमा ल्याइरहेका छन् भने ग्यासलाई इन्जिनमैत्री इनर्जीका रुपमा उनीहरुले अथ्र्याएका छन् ।
अहिले हाइट्रोजनको चर्चा चल्दै गर्दा उक्त सिस्टम पनि नौलो नभएको र ५० औं वर्षअघि आइसकेको जानकारहरु बताउँछन् । ग्यास गाडीका सन्दर्भमा सरकारले पटक-पटक कार्यविधि तथा मापदण्ड बनाउने भने पनि अहिलेसम्म टेरपुच्छर लगाएको छैन । कमिसनको महारोगले पशुपति अटो ग्यास पम्प मात्रै होइन न्यून लगानीमा स्वरोजगार बन्न चाहने कयौँ जनसाधारणलाई पनि टाउको उठाउनै दिएन ।