काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक मंगलबार उच्च अंकले बढेर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
यसदिन नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सात अर्ब ६१ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार तीन अर्ब ७१ करोड रुपैयाँको सामान्य कारोबार भएको थियो ।
मंगलबार २४३ कम्पनीको शेयर मूल्य बढेको छ । युनिलिभर नेपालको शेयर मूल्य प्रतिकित्ता ४१० रुपैयाँले घटेको छ । नेपाल ल्युब आयलको शेयर मूल्य स्थिर छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक सर्वाधिक वृद्धि हुनेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक ९.७४ प्रतिशतले वृद्धि भएको छ ।
इन्भेस्टमेन्ट समूहको ६.१, हाइड्रोपावरको ५.९८, होटेल तथा पर्यटनको ५.९७, विकास बैंकको ५.४८, ‘अन्य’ समूहको परिसूचक ४.६७ प्रतिशतले बढेको छ ।
जीवन बीमा समूहको ४.१२, व्यापारको ३.९८, माइक्रोफाइनान्सको ३.९८, वाणिज्य बैंकको ३.८२, निर्जीवन बिमाको ३.०९, उत्पादन तथा प्रशोधनको २.१९ र म्युचुअल फन्ड समूहको परिसूचक १.६६ प्रतिशतले वृद्धि भएको छ । १८ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।