काठमाडौँ । प्रधानमन्त्री कार्यालयका अनुसार असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट २२४ जनाको मृत्यु भएको छ ।
प्रधामन्त्री केपी शर्मा ओलीले बोलाएको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपतका घटनामा भएको धनजनको क्षतिबारे जानकारी दिनु भएको हो ।
पत्रकार सम्मेलनमा २१ जिल्ला प्रभावित भएको जानकारी दिँदै मुख्यसचिव अर्यालले अझै २४ जना बेपत्ता र १५८ घाइते रहेको जानकारी दिनुभयो । त्यस्तै ४ हजार ३३१ जनाको उद्धार गरिएको सरकारले जनाएको छ ।
भौतिक क्षतितर्फ खानेपानी ३ अर्ब ५५ करोड, सडकतर्फ २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब, र सिँचाइतर्फ १ अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको सरकारले जनाएको छ ।
बाढी पहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा सञ्चालन आइसकेको सरकारले जानकारी दिएको छ । त्यस्तै ३४ निर्माणाधीन जलविद्युत आयोजनाहरूमा क्षति पुगेको छ भने कृषितर्फ ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारले जनाएको छ ।
सरकारले विपद्पछि खोजीकार्यमा ३० हजार ७ सय सुरक्षाकर्मीसहित हेलिकोप्टर समेत प्रयोग गरिएको जनाएको छ । त्यस्तै राहत तथा उद्धारलाई तीव्रता दिने तयारी भइरहेको तथा अवरुद्ध सडकहरु खुलाउने प्रयास भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपद जोखिम न्यूनिकरणका लागि पर्याप्त पूर्वतयारी गर्न नसकेको स्वीकार्नु भएको छ । पत्रकार सम्मेलनमार्फत देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपद व्यवस्थापनको पर्याप्त तयारी नभएको स्वीकार्नु भएको हो ।