काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कोरोना महामारीपछि पहिलो पटक भौतिक रुपमा ‘इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर’ आयोजना गरेको छ ।
इक्यानको आयोजनामा मंगलबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा एकदिने ‘१५औँ इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ सम्पन्न गरेको हो । इक्यानका अध्यक्ष शेषराज भट्टराईले कोरोना महामारीपछि पहिलो पटक भौतिक रूपमा मेला आयोजना गरिएको बताउनुभयो ।
उहाँले नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली, प्राप्त योग्यताको भावी सम्भावना र असरबारे पर्याप्त सूचना प्रवाह, शैक्षिक संस्थामा प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा तथा जानकारी एवम् परामर्श सेवा प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिनुभयो ।
उच्च शिक्षाको सपना बोकेर संघीय राजधानी काठमाडौं छिरको विद्यार्थीका लागि यो शैक्षिक मेला महत्वपूर्ण माध्यम हुने उहाँको भनाई छ । बाढीपहिरो र मौसमजन्य विपदका बेला पनि मेला अवलोकन गर्न आउने विद्यार्थीको संख्या उल्लेख्य देखिएको इक्यान पदाधिकारीले बताए । ।
मेलामा विद्यार्थीले खासगरी विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रियालगायतका विषयमा जानकारी लिए । साथै विभिन्न देशका प्रतिनिधिहरूसँग पनि साक्षात्कार गर्न पाएका छन् ।
मेलाबाट विद्यार्थीले अन्तर्राष्ट्रियस्तरमा प्रचलित शिक्षण पद्दती समावेश सामग्री तथा परामर्श प्राप्त गरेका छन् भने ज्ञान, सीप र बौद्धिक क्षमतामा अभिवृद्धिको अवसर प्राप्त गरेका छन् ।
इक्यान उपाध्यक्ष तथा मेला संयोजक गीता सिवाकोटीले कोरोना महामारीपछि पहिलो पटक भौतिक रूपमा आयोजना गरिएको मेलाले विद्यार्थी र अभिभावकमाझ सकारात्मक सन्देश प्रवाह गर्न यो फेयर सफल भएको प्रतिक्रिया दिनुभयो ।