काठमाडौं । तारकेश्वर नगरपालिकामा ४ सानो पुलमा रहेको ‘तारकेश्वर सिटी हस्पिटल’ सञ्चालनमा आएको छ । २४ घण्टा नै चिकित्सा सेवा दिने उद्देश्यले आधुनिक सेवा सुविधासहित स्थापना भएको अस्पतालमा शल्यक्रिया कक्षसमेतको सुविधा रहेको छ । हाल १५ शय्या रहेको अस्पतालले नाफामूलकभन्दा सेवामूलक ढङ्गले सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख हरिकृष्ण महर्जनले एक समारोहबिच अस्पतालको उद्घाटन गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अस्पताल उद्घाटन मात्र होइन चुस्त, दुरुस्तरुपमा कालान्तरसम्म व्यवस्थापन होस र समयमै बिरामीले उपचार पाऊन् । आधुनिक युगका भगवान भनेर डाक्टरलाई भनिन्छ, चिकित्सकको असल व्यवहारले बिरामीको आधा रोग निको हुन्छ ।’’
उहाँले तारकेश्वर नगरपालिकाले आफ्नै अस्पताल निर्माण गर्ने तयारी गरिरहेको छ सरसफाइदेखि औषधिको व्यवस्थापनमा राम्रो ध्यान दिन सञ्चालकहरुसँग आग्रह गर्नुभयो । नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटीले ठूला अस्पतालले पत्ता लगाउन नसकेको आफ्नो रोगको पहिचान यहाँ अस्पतालका चिकित्सकले आयोजना गरेको स्वास्थ्य शिविरमा लागेको सुनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘‘मैले ग्रान्डी इन्टरनेसल हस्पिटलदेखि अन्य अस्पतालमा पनि जचाएँ, हरेकले भिन्न भिन्न सुझाव र औषधि सिफारिस गरे, अन्त्यमा यही अस्पतालका चिकित्सकको टोलीले तारकेश्वरमै आयोजना गरेको शिविरमा मलाई जबर्जस्ती परीक्षण गर्न लगाउनु भयो, नभन्दै रोगको पहिचान पनि भयो र हेम्स हस्पिटलमा शल्यक्रिया गरेर २१ दिनपछि आज यहाँ आएकी छु ।’’
राम्रो डाक्टरको हातमा बिरामी प¥यो भने बिरामी बाँच्न सक्छ भन्दै उहाँले दुर्घटनामा परेका मानिसको तत्काल उपचार होस र यहाँका नागरिकले राम्रो सेवा सुविधा पाऊन भन्नुभयो ।
अस्पतालका अध्यक्ष डा. ऋषिकुमार कार्कीले बिगत १५ वर्षदेखि विभिन्न १६–१७ वटा अस्पतालमा काम गरेको अनुभव सुनाउँदै नजिकको अस्पतालमा समयमै उपचार पायो भने ९० प्रतिशत बिरामी बाँच्छन् भन्नुभयो । डा. कार्कीले चक्रपथ क्षेत्रमा रहेका अस्पतालमा पाउने सुविधा यही अस्पतालले दिन्छ, महँगो पनि पर्दैन, पैसाको अभावले उपचार नहुने अवस्था पनि नआउने दाबी गर्नुभयो ।
प्राइभेट हस्पिटल एसोएिसनका अध्यक्ष डा. पदम खड्काले यस्ता अस्पतालसँग सहकार्य गर्न नगरपालिकासँग आग्रह गर्दै चिकित्सा क्षेत्र नाफा कमाउने व्यवसाय नभई सेवामूलक साझा सम्पत्ति हो, यसलाई सबैले संरक्षण गर्नुपर्छ भन्नुभयो । वडा नं. ४ का अध्यक्ष नरेन्द्रदास श्रेष्ठले आफ्नै वडामा २४ घण्टा नै सेवा दिने गरी अस्पताल सञ्चालनमा आएकोमा खुसी प्रकट गर्नुभयो ।
अस्पतालका सल्लाहकार धनलाल महर्जनले ज्येष्ठ नागरिक, अशक्तले पहिलो प्राथमिकता पाउने तथा गरिब, निमुखा सबैले सेवा लिन सक्ने जानकारी दिँदै असाह्य विबरामीलाई आफ्नो व्यक्तिगततर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
अस्पतालको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अस्पतालका सञ्चालक विवेककुमार धितालले निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य परीक्षणमा विशेष छुट दिएर स्थानीयबासीको सेवा गर्ने अठोट लिएको सुनाउनु भयो । सञ्चालक श्यामकृष्ण फुयालले अस्पतालले दिने सेवा सुविधाका बारेमा चर्चा गर्नुभएको थियो ।