काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ताको निवेदन दिने २६ मध्येबाट एउटा दललाई रिजेक्ट गरेको छ । दल दर्ताका लागि निवेदन दिएका २६ मध्येबाट नेपाल सद्भावना पार्टीलाई आयोगले दर्ता गर्न इन्कार गरेको हो । सद्भावनाले लामो समयदेखि आफ्नो दलीय तथा वित्तीय विवरणलगायत नबुझाएको भन्दै दर्ता गर्न अस्वीकार गरेको हो ।
आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार निवेदन दिएका दलहरुको कागजात छानविन गर्दा रीत पुगेका २५ वटा दललाई दर्ता स्वीकृति दिएको हो ।
आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, मङगोल नेशनल अर्गनाइजेसन, नेपाल समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, आम जनता पार्टी, बहुजन एकता पार्टी नेपाल, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेकपा माले, राप्रपा नेपाल, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस बीपी, राष्ट्रिय मातृभूमि पार्टी र नेपाली जनता दल दर्ता भएका छन् ।
संसदीय निर्वाचनमा थ्रेसहोल्ड राखिएपछि राजनीतिक दलहरुको संख्या घट्दै गएको छ । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ७९ दलले भाग लिएका थिए । जतिबेला नयाँ ९ दल दर्ता भएका थिए भने त्यसअघि आयोगमा १०३ पार्टी दर्ता थिए । आउँदो मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिने दलको संख्या २५ वटामा झरेको छ ।