काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं-तिहारलगायत चाडपर्व लक्षित गर्दै ‘डिजिटल वालेट’ मा रकम जम्मा गर्न सक्ने दैनिक संख्या बढाएको छ ।
यो वर्ष दशैंमा नयाँ नोट सटही गर्ने सुविधा नदिएको केन्द्रीय बैंकले सफा नोटमात्र साट्ने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकले चाडपर्वमा डिजिटल दक्षिणा प्रोत्साहन गर्न वालेटमा रकम जम्मा गर्न सक्ने संख्या बढाएको हो ।
हाल प्राकृतिक व्यक्तिले डिजिटल वालेटमा एक दिनमा १० पटक मात्रै रकम जम्मा गर्न सक्ने व्यवस्था छ । तर, दशैं-तिहार लगायत चाडपर्वमा भने वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।
‘बडा दशैंको शुभ अवसरमा २१ असोजदेखि १ कात्तिक कोजाग्रत पूर्णिमासम्म र दिपावली तथा छठ पर्वको अवसरमा १५ कात्तिक देखि २२ कात्तिकसम्म प्राकृतिक व्यक्तिले डिजिटल वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न सक्नेछन्,’ राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकलाई जारी गरेको निर्देशनमा छ ।
चाडपर्वका लागि अस्थायी रूपमा मात्रै एक दिनमा ३० पटक रकम जम्मा गर्न सक्ने व्यवस्था भएको हो । केन्द्रीय बैंकले डिजिटल कारोबारमा प्रोत्साहन गर्न खोजे पनि चालु आर्थिक वर्षका लागि सरकारले १५ जेठमा ल्याएको आर्थिक विधेयकबाट डिजिटल भुक्तानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था गर्दा डिजिटल भुक्तानी लागत बढेको छ ।
अन्तरबैंक फन्ड ट्रान्सफर गर्दा लाग्ने शुल्कमा भ्याट लाग्दा १० रुपैयाँ शुल्क लाग्दै आएकोमा अब त्यसमा भ्याट जोडिएसँगै ११ रुपैयाँ ३० पैसा लाग्न थालेको छ ।
आर्थिक विधेयक मार्फत क्लियरिङ सेवामा भ्याट लाग्ने व्यवस्था भयो । त्यससँगै नेपाल क्लियरिङ हाउस र फोनपेले आफ्नो सेवामा १ साउनबाट भ्याट जोडेर लिन थालेसँगै अन्तरबैंक भुक्तानी मात्रै नभएर चेक क्लियरिङमा समेत भ्याट लाग्न थालेको छ ।
उक्त भ्याट वालेट र बैंक तथा वित्तीय संस्थाजस्ता सेवा प्रदायकले ग्राहकलाई ट्रान्सफर गर्दै आएका छन् । विद्युतीय वित्तीय कारोबारमा सेवाग्राहीको लागत बढाएको छ । डिजिटल भुक्तानीमा भ्याट लाग्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त शुल्क हटाउने बताउनु भएको थियो ।
प्रधानमन्त्री ओलीले भदौ अन्तिम साता सरकारले डिजिटल भुक्तानीमा लाग्ने भ्याट हटाउने भन्दै सामाजिक सञ्जालमा लेख्नु भएको थियो । तर, प्रधानमन्त्रीले घोषणा गरेको एक महिना पुग्नै लाग्दा समेत डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट हटेको छैन ।