काठमाडौं । दुई वाणिज्य बैंकको कुल सम्पत्ति ५ खर्बभन्दा माथि उक्लिएको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंक र नबिल बैंकको मात्रै कुल सम्पत्ति ५ खर्ब भन्दामाथि उक्लिएको हो । यो आँकडा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । सबैभन्दा कम सम्पत्ति भएको बैंक माछापुच्छ्रे्र र स्ट्याण्डर्ड चार्टर्ड ठहरिएका छन् । उनीहरू दुवैको कुल सम्पत्ति एक खर्बबढी मात्रै छ ।
समग्रमा देशमा सञ्चालित वाणिज्य बैंकहरूको कुल सम्पत्ति ६६ खर्ब पुगेको छ । आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा २० वटा बैंकहरुको कुल सम्पत्ति ६५ खर्ब ९६ अर्ब ८१ करोड ५ लाख रुपैयाँ पुगेको हो । गत वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरूको सम्पत्ति ७.२९ प्रतिशतले बढेको छ ।
बैंक मामिलाका जानकारका अनुसार सम्पत्तिको मूल्य वृद्धि र खराब कर्जाको धितो सकार्नु लगायतले पनि वाणिज्य बैङ्कहरूको सम्पत्ति बढेको हो । गएको आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुसँग कुल ५९ खर्ब १५ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको सम्पत्ति थियो ।
अर्थतन्त्रमा आएको संकुचनका कारण पछिल्लो १ वर्ष व्यवसाय विस्तारमा सुस्त देखिएका वाणिज्य बैंकहरूले खुद नाफा र सम्पत्ति भने उल्लेख्य रुपमा बढाउन सफल भएका छन् । बैंकहरूको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै सम्पत्ति ग्लोबल आइएमई बैंकको छ ।
यस, बैंकसँग ५ खर्ब ५२ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । नबिल बैंकसँग ५ खर्ब १९ अर्ब ३८ करोड २८ लाख रुपैयाँ सम्पत्ति छ । सम्पत्तिकै आधार तेस्रो ठूलो धनी बैंक भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । बैंकसँग हाल ४ खर्ब ७८ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।
यता, सरकारी स्वामत्विमा रहेको राष्ट्रिय वाणिज्य बैंक पनि धनी बैंकको चौंथो स्थानमा छ । हाल बैंकसँग ४ खर्ब १५ अर्ब ५८ करोड २ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । पाँचौं स्थानमा रहेको एनआइसी एशिया बैंकसँग पनि ४ खर्ब ३३ अर्ब ६१ करोड २३ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।
कुमारी बैंकसँग ३ खर्ब ९५ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको सम्पत्ति रहँदा लक्ष्मी सनराइजसँग ३ खर्ब ७९ अर्ब ४९ करोड ७३ लाख, हिमालयन बैंकसँग ३ खर्ब ५९ अर्ब ६१ करोड ७६ लाख, प्रभुसँग ३ खर्ब ४४ अर्ब ६६ करोड ३ लाख रुपैयाँको सम्पत्ति छ । यस्तै, नेपाल बैंकसँग ३ खर्ब १४ अर्ब ५६ करोड ४४ लाख, एनएमबिसँग ३ खर्ब ७ अर्ब १७ करोड ५४ लाख, कृषि विकास बैंकसँग २ खर्ब ९६ अर्ब ९० करोड ६१ लाख, सिद्धार्थसँग २ खर्ब ८७ अर्ब ३८ करोड ८६ लाख, एभरेष्टसँग २ खर्ब ७२ अर्ब ६० करोड २४ रुपैयाँ बराबरको सम्पत्ति छ ।
यस्तै, प्राइमसँग २ खर्ब ५४ अर्ब ६१ करोड ९५ लाख, सानिमासँग २ खर्ब २३ अर्ब ३६ करोड ८१ लाख, सिटिजन्ससँग २ खर्ब १४ अर्ब ६७ करोड ८७ लाख र नेपाल एसबिआईसँग २ खर्ब ८ अर्ब ९१ करोड ४ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।यता, माछापुच्छ्रे बैंकसँग १ खर्ब ९१ अर्ब १० करोड ७० लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकसँग १ खर्ब ४६ अर्ब ५१ करोड ६९ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।
बैंकको सम्पत्ति गणना गर्दा हरेक बैंकमा भएको नगद तथा नगद सामान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, व्युत्पन्न (डेरिभेटिभ) वित्तीय उपकरणहरुलाई लिने गरिन्छ ।