काठमाडौं । समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ७ दिनभित्र ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ दिनको म्याद दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी ७ दिनभित्र ऋण तिर्न भनेको हो ।
यस्तै, समितिले अन्तिम पटक ऋणी र जमानतकर्तालाई ऋण तिर्न ७ दिनको समय दिइएको र ७ दिनभित्र ऋण चुक्ता नगरे ऋण र जमानतकर्ताको एकाघर परिवारका सदस्यको सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।
‘अन्तिम पटक ७ दिने सूचना प्रकाशित गर्ने र सो अवधिसम्म पनि ऋणीहरू तथा जमानीकर्ताहरूले आफ्नो दायित्व तिर्न बुझाउन नआएमा निज ऋणी र निजका एकाघरका परिवारको सम्पत्ति, बैंक खाता तत्काल रोक्का गर्ने, कालोसूचीमा राखिने छ,’ बिहीबार प्रकाशित सूचनामा भनिएको छ, ‘रोक्का राखिएको सम्पत्ति र बैंक खाताबाट सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) को खण्ड (क) (ख) (ग) सहकारी नियमावली, २०७५ बमोजिमको कारबाही अगाडि बढाइ ऋण असुल उपर गर्ने निर्णय भएको छ ।’
समस्याग्रस्त घोषित संस्थाका सञ्चालक, व्यवस्थापकहरू, ऋणी सदस्यहरू र कर्मचारीलाई आफ्नो दायित्व भुक्तानीका लागि पटक-पटक राष्ट्रियस्तरको पत्रपत्रिका र एसएमएस मार्फत ३५ दिने सूचना समेत पठाइएको समितिले जनाएको छ ।
केहीबाहेक अधिकांश ऋणी सदस्यले सम्पर्क पनि नगरेको र आफूले तिर्न बुझाउनु पर्ने दायित्व समेत तिरे बुझाएको नदेखिएकाले अब सम्पत्ति रोक्का राख्ने, कालोसूचीमा राख्ने र एकाघर परिवारको सम्पत्ति बिक्री गरेर ऋण असुल गर्ने निर्णय भएको समितिले जनाएको छ ।