कास्की । पोखरा महानगरपालिकाभित्र फल्ने रैथाने जेठो बुढो धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किन्ने भएको छ। पोखरा र आसपासको क्षेत्रमा लगाइने जेठो बुढो उपभोक्तामाफ लोकप्रिय छ ।
महानगरले जेठो बुढो धानको समर्थन मूल्य प्रतिक्विन्टल नौ हजार पाँच सय तोकेको छ । खाद्यले भने प्रतिक्विन्टल १० हजारका किन्ने भएको छ । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबिच पोखरा महानगरपालिकाभित्र उत्पादन हुने कृषि उपज खरिद गर्ने सम्झौता भएको छ ।
महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट निमित्त प्रादेशिक प्रमुख रञ्जना केसीले सम्झौता हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार महानगरपालिकाले वास्तविक कृषक पहिचान र खरिद समितिले तोकेको परिमाणमा धान खरिद गर्न कृषकहरूलाई कुपन उपलब्ध गराउनेछ ।
पोखरा महानगर क्षेत्रको करिब चार हजार हेक्टर क्षेत्रफलमा जेठो बुढो धान लगाइएको छ । यहाँ १४ हजार मेट्रिक टन जेठो बुढो धान उत्पादन हुने अनुमान गरिएको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले सुनाउनुभयो ।
२०८२ असार मसान्तसम्मका लागि यो सम्झौता गरिएको हो । तत्काललाई जेठो बुढोको खरिद-बिक्रीको सम्झौता भए पनि आवश्यकता अनुसार अन्य रैथाने बालीसमेत खरिद-बिक्रीका लागि दुवै पक्षबिच सहमति भएको छ । यो सम्झौताले धान उत्पादनको बजारीकरण सुनिश्चित भएको नगर प्रमुख धनराज आचार्य बताउनुहुन्छ ।
“तयार हुन लागेको जेठो बुढो धान नबिक्ने हो कि भन्ने चिन्ता सकिएको छ । जेठो बुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत देशभरिका नागरिकहरूको चुलोमा पुग्ने अवस्था सुनिश्चित भएको छ,” नगर प्रमुख आचार्यले भन्नुभयो । पोखरा महानगरले जेठो बुढोसहित ३५ प्रकारका कृषि उपजहरूको समर्थन मूल्य तोकेको छ ।
महानगरले स्थानीय उत्पादन प्रवर्धन अभियान अन्तर्गत कृषि उपजहरूको ब्रान्डिङ तथा बजारीकरणका लागि रैथाने हाटबजारसमेत चलाएको छ ।