काठमाडौं । लहरो तान्दा पहरो भने झैं रवि लामिछानेको एक पछि अर्को पोल खुल्ने थालेका छन् । रवि गलेर गिरफ्तारी दिएपछि जीबी राईले इमेल पठाएको विषयले यो प्रकरणमा नयाँ तरंग ल्याएको छ ।
जीबीले रवि गृहमन्त्री हुँदा जीउज्यानको असुरक्षाका कारण आफु नेपाल आउन नसकेको र अनुसन्धानलाई सघाउन नसकेको व्यहोराको इमेल एक साप्ताहिक पत्रिकाका सम्पादकलाई पठाएको चर्चाले यो प्रकरणलाई नयाँ तरंग दिएको छ ।
जीबीले पठाएको भनिएको चिठीमा आफुले संसदीय छानविन समितिलाई यस सम्बन्धनमा जानकारी गराइसकेको जिकिर गरिएको छ । आफ्नो पोल खुल्ने डरले रविले नेपाल आउन नदिएको र भएका प्रमाणहरु मेटाएर मुद्दा मिलान गर्ने आश्वासन दिएको समेत चिठीमा उल्लेख छ ।
जीबीले रविको नखुलेको पाटो खोलिदिएका छन् । उनले नेपालबाट विभिन्न व्यक्तिका नाममा अमेरिकामा हुण्डी गर्न लगाएर घुमाउरो बाटोबाट पैसा नेपाल ल्याउने गरेको रहस्योद्घाटन भएको छ ।
रविले जिवी राईको मात्र नभई नेपालका मिटरव्याजीहरुको रकम पनि त्यसरी घुमाएर सेटल हानेका छन् भने रविले चितव २ को उपनिर्वाचन समेत मिटरव्याजीको पैसाले जितेको रस्योद्घाटन भएको छ । त्यसको सुत्रधार नेपाली चलचित्र जगतमा स्टार भनेर चिनिएका विपिन कार्की भएको कुरा रविका आफ्नै सालाले पोखरा गएर खोलेका छन् ।
मिटरव्याजीहरुको रकम रविकहाँ ल्याउने र ससुरा उद्धव पौडेलको डुबेको सिनेमा हलमा लगानी जुटाइदिने सुत्रकार अभिनेता विपिन कार्की हुन् । जीबी राई फरार भएपछि केही समय विपिन लुकेका थिए । रवि गृहमन्त्री भएका बेला विपिन मिटरव्याजीबाट कागज गरेर लिएको पैसा बुझ्न र सेटल हान्न अमेरिका गएका बुझिएको छ ।
मिटरव्याजी र सहकारी घोटालाको हिसाबहिताब मिलानका दौरान उद्धव पौडेललाई राष्ट्रिय सभामा ल्याउने प्रपन्च समेत रचिएकामा त्यो सफल नभएपछि रवि आफैं प्रचण्डको सरण परेर गृहमन्त्राय मागेका थिए । रविले गर्नु अपराध गरेको र दिनु धोका दिएको थाहा पाएपछि रास्वपा भित्रैबाट उनीविरुद्धको सूचना बाहिर चुहिएका थिए ।
सामान्य रुपमा नगलेका रवि गृहमन्त्री रमेश लेखकको गोप्य मिसनसामु घुँडा टेके । रमेश लेखकले सहकारीको सफ्टवेयर तथा सिस्टम बनाउने कम्पनीदेखि हुण्डीका नाइके समेतको गोप्य निगरानीबाट सबै कुरा प्रमाणित गरेपछि मात्रै गलेर गिरफ्तारी दिएका हुन् । प्रमाणित कुरो थाहा पाएपछि नै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले समेत रविलाई बोक्न छोडेका थिए ।
रविले केन्द्रीय अनुसन्धान व्युरो सीआइबीमा ल्याएका मनोज केसीसँग अमेरिकी पीआर रहेको र उनी रविले गरेका बदमासीको प्रमाण मेटाउन उद्दत रहेको थाहा पाएसँगै उनलाई वर्तमान सरकारले गलत्याएको थियो । डीआईजी केसीको सरुवाविरुद्ध जसले नाराबाजी गरेका थिए, अहिले त्यही समूहले पोखरामा नाराबाजी गरेको बताइँदैछ ।
अर्कोतिर रविको ससुराली खलक आफैं पोखरामा खटिएर लोकल स्थानीय बटुलेको रहस्य खुलेको छ । एक अभियन्ताकहाँ रविका साला र रास्वपा सांसद मनिष झा आफैं पुगेर प्रदर्शनमा स्थानीयहरुलाई पैसा तिरेर भए पनि उतारिदिन आग्रह गरेको बताइएको छ । रविका सालाले पार्टीले केही खर्च नगरे पनि व्यक्तिगत रुपमा खर्च गर्न तयार रहेको र मान्छे भनेजति उतारिदिन आग्रह गरेको ती अभियन्ताले बताए ।
चर्चामा रहेको जीविको पत्रः
नमस्ते म जिबी राईको तर्फबाट प्रेषित सन्देश,
अहिले सहकारीको विषयमा भएको अनुसन्धानले म खुशी छु । सहकारीको अनुसन्धान यसै दिशामा अगाडि बढे सहजतापूर्वक अनुसन्धानमा सहयोग गर्न छिट्टै आउने छु। त्यो वातावरण बनाइदिनुहोला, जुन कुरा संसदीय समितिलाई पनि मैले सन्देश पठाएको थिएँ।
म सहकारी पीडितलाई रकम फिर्ता गरी आफ्नो बाँकी जीवन सहजताका साथ बिताउन चाहन्छु। त्यो वातावरण राज्यले बनाइदियोस्। अहिले पक्राउ परेका साथीकै कारण मैले अनुसन्धानमा सहयोग गर्न नसकेको हुँ। मेरो डुबेको लगानी गोर्खा मिडियामा मात्रै हो।
लामिछानेजीकै अनेक आइडियाका कारण म अहिलेसम्म पनि उनको पार्टी र व्यक्तिहरुलाई पैसा बुझाएर बसेको छु। यसतर्फ पनि अनुसन्धान गरियोस्। मित्रले मलाई धेरै पटक नेपाल नआउन दबाब, धम्की सबै दिएका हुन्। म गत वर्ष नै अनुसन्धानलाई सघाउन खोज्दा नेपाल आए ज्यान जानसक्ने धम्की दिएका थिए। आफू मातहतमै सबै अनुसन्धान हुने हुँदा केस मिल्ने भन्दै पार्टी र व्यक्तिका नाममा पैसा असुल गरी नै राखे।
शुरुमा मिडियामा लगानी गर्नु अगावै चिनजानपूर्व नै न्युज २४ मा हुँदा धम्की दिएर २ करोड लिएका हुन्। त्यसपश्चात उनका सहयोगी दिपक बोहराले टिभीमा लगानी गर्ने शर्त अगाडि सारेपछि म अगाडि बढेको हुँ। याक एण्ड यतीको बैठकमा स्वयं दिपक र रविले तपाईंसँग सहकारी छ, त्यहाँको पैसा यता लगानी गर्नुस् हामी नाम र दाम पनि दिन्छौं भनेपछि म अगाडि बढेको हुँ। टिभी नचल्ने देखेपछि र राजनीतिमा जान्छु भनेपछि आफ्नो कर्तुत पनि बाहिर आउने डरले अन्तिम एपिसोडमा नभएका कुरा बोले।
केहीपछि तपाईंलाई गाह्रो हुन्छ, मेरो नाम पनि जोडिन्छ, टिभी नै अरुको नाममा राखौँ भनेर युवराज कडेँलको नाम ल्याए। मैले विश्वास नगरेपछि बानियाँ थरका व्यक्तिको नाम अरु कोहीमार्फत उनले नै ल्याए। त्यो प्रस्ताव बानियाँ आफैले नमानेपछि कुरा रोकियो जस्तो लाग्छ। पछि यो कुरा बाहिर आउन थालेपछि म सबै मिलाउँछु जिबीजी किन आत्तिएको भन्दै सधै पार्टी र आफूलाई आर्थिक सहयोग मागिरहे।
उपनिर्वाचनको बेला अमेरिकामा रहेका मोहन थापालाई ५ करोड हुण्डी गर्न लगाए। मैले मोहनलाई ५ करोड रविका लागि भनी पठाएँ। पछि पनि अमेरिकामा रहेका उनै बानियाँ थरका व्यक्तिलाई मोहनलाई पैसा पठाउन भन्थे। बानियाँ थरका व्यक्तिले पैसा लिन सधैँ नकारे पनि रवि अघिल्लो गृहमन्त्री रहुन्जेल करिब १२ करोड मैले मोहनलाई पार्टीको लागि भनेर सहयोग पठाएँ।
जापानमा डिपीका अर्का अर्याल थरकै व्यक्तिलाई पनि ३ करोड पठाएँ। मोहनले रवि पत्नीको नाममा उक्त रकम अमेरिकाबाट नेपाल पठाउँथे। र, केही रकम रविका अर्का सहयोगी विपिन आचार्यलाई पनि पठाएको स्लिप मेरो मान्छेलाई पठाएका छन्।
उनले दिपक बोहरामार्फत केस अगाडि जाँदैन, तपाईं नेपालचाहिँ नआउनु कतै केहि नबोल्नु भनेर धम्काउने र तर्साउने गरे। अहिले रवि आफैं हिरासतमा गएकाले मलाई अब अनुसन्धान सही दिशामा अगाडि बढेमा नेपाल आई आफ्ना कुरा राख्न सहयोग हुनेछ। उनलाई उन्मुक्ती नदिइयोस्। उनी पुर्पक्ष चलान भएमा मलाई नेपाल आउन सुरक्षित महसुस हुनेछ र सबै सहयोग गर्ने र बचतकर्ताको रकम फिर्ता गर्नेछु। राज्यले सहयोग गरोस् १ म सबै बचतकर्ताको रकम बाचा बमोजिम फिर्ता गर्न तयार नै छु।