खोटाङ। खोटाङमा युवाहरुको समुहले तिहारमा माइती जाने चेलीलाई निःशूल्क बाइक सेवा दिने भएका छन् ।
आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीहरुलाई मोटरसाइकलमा निःशूल्क माइती घर पुराइदिने युवाहरुको अभियान रहेकोछ । गत दसैँबाट सुरु भएको यो अभियान तिहारमा पनि निरन्तरता दिने समुहले जनाएका छन् ।
दसैँमा आपतविपत्मा परेकाहरुलाई गन्तव्यसम्म पुराउने योजनासहित अभियान सुरु गरिएको अभियानका संयोजक सञ्जय कुमार राईले बताए ।
दसैँमा चार दिनसम्म सञ्चालन भएको अभियानबाट ७० जना बढीले सेवा पाएका थिए । “दसैँ, तिहार चेलीलाई उपहार” नाम दिएर सुरु भएको अभियानमा करिब १० जना युवाहरु जेडिएका छन् । अझै जोडिने क्रम जारी रहेको संयोजक राईले बताए ।
नेपालीको महत्वपूर्ण चाड तिहारमा माइती घरसम्म पुग्न समस्या भएका चेलीहरुलाई निःशूल्क मोटरसाइकलमा पुराइदिने उनको भनाइ छ ।
माइती र चेलीको यो पर्वमा आर्थिक अवस्थाका कारण वा अन्य समस्याका कारण चेली माइती घर जान नसक्ने अवस्था भएमा आफ्नो टिमलाई सम्झन सकिने राईले बताए ।
खोटाङका विभिन्न ठाउँहरुमा ३५ किलोमिटर भित्रसम्म यो टिमले निःशूल्क सेवा दिने जनाएको छ । कात्तिक १६ गते शुक्रबार चेलीहरुलाई माइतीको घरसम्म पुराउने र १९ गते पुनः घरसम्म ल्याइदिने संयोजक राईले बताए ।
सरकारी सेवा सुविधा लिइरहेकाहरुलाई भने सेवा उपलब्ध हुने छैन् । यस अभियानमा जोडिएर सेवा दिइरहेका मोटरसाइकल चालकहरुलाई दित्तेल रत्नपार्कस्थित शुभम क्याफेले निःशूल्क खाना खुवाउने क्याफेका सञ्चालक सुर्य राईले बताए ।
यस्तै, खोटाङ महिला उद्यमी संघ, व्यवसायी आशिस थापा लगायत अन्य संघ संस्था र ब्यक्तिहरुले अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन।