काठमाडौं । हिनामिनाको ट्याग लगाई अनर्गल प्रचार भएको भन्दै दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले वक्तव्यमार्फत प्रतिवाद गरेको छ । भ्रष्टाचारविरुद्ध सामाजिक सञ्जालमार्फत डार्क फाइल अभियान चलाइरहेका राजकुमार तिमिल्सनालगायतले जनसचेतन आवद्ध व्यक्ति तथा पूर्व सञ्चालक समिति सदस्यहरुको मिलेमतोमा विना धितो तथा धितोभन्दा १०० प्रतिशत बढी ऋण प्रवाह गरेर ४० हजार बचतकर्ताको २ अर्ब बढी बचत रकम हिनामिना गरेको भनी फेसबुक(मेटा)मा प्रचारबाजी गरेपछि संस्थाले आफ्नो आधिकारिक लेटरहेडमा ध्यानाकर्षणको वक्तव्य जारी गरी प्रतिवाद गरेको हो ।
फेसबुकमा दक्षिण एसियाकै टप सहकारी भनेर सूचीकृत दोलखा बैतेश्वर गाउँपालिका–५ मा प्रधान कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका करिब ४० हजार बचतकर्ताको २ अर्ब २५ करोड ६० लाख ८७ हजार ३ सय ९३ रुपैयाँ र अन्य सहकारीको गरी २ अर्ब ६४ करोड रकम अपचलन भएको भनी प्रचारबाजी भएको थियो ।
त्यसको जवाफमा सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज दहाल र कार्यबाहक अध्यक्ष गोपालध्वज श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरी ०८१ कार्तिक १९ गते सामाजिक सञ्जाल फेसबुकबाट सञ्जालिकृत भएको भ्रामक सूचना प्रति गम्भिर ध्यानाकर्षण भएको भन्नु भएको छ ।
सञ्जालमा जनसचेतनसहित अन्य सहकारी संघ, संस्थाका पदाधिकारीहरुको समेत नाम किटान गरी समग्र सहकारीको विषयमा भ्रम छर्ने र गलत तथ्यहरु उल्लेख गरी भ्रामक सूचना सम्प्रेषण भएकोमा ध्यानाकर्षण पत्रमार्फत् गम्भीर आपत्ति जनाइएको छ । ती विषयवस्तु तथ्यहीन, कपोकल्पित, पूर्वाग्रही र मनगढन्ते तथा भ्रामक रहेको जानकारी गराउँदै सम्बन्धित सम्पूर्ण शेयर सदस्य, सरोकारवाला सबैलाई तथ्यगत रुपमा स्पष्ट पारिएको छ ।
हेरौँ, वक्तव्य
जनसचेतनका प्रमुख कार्यकारी एवं सीईओ दहालले सामाजिक सञ्जालबाट सार्वजनिक बैना पट्टा काजगमा उल्लेख राजमजी दहाल संस्थाको साधारण सदस्य तथा ऋणी भएको स्वीकारे पनि आफुहरुको संस्थामा बाहिर प्रचार गरिएजस्तो कुनै पनि समस्या नभएको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘‘सामाजिक सञ्जालमार्फत सार्वजनिक एउटा बैना पट्टा कागजमा जनसचेतनको नाम जोडिएको र त्यसमा उल्लेख रामजी दहाल भन्ने व्यक्ति हाम्रो साधारण सदस्य रहेको कुरा साँचो हो । हाम्रा सदस्यहरुले संस्थाबाट ऋण लिएर अन्यत्र लगानी गर्न पाउँछन् । तर, यहाँ कागजमा जनसचेतनको नाम उल्लेख भएको विषयलाई विषयान्तर गरेर अनर्गल प्रचार गरियो । हामीले केन्द्रीय बैंकको निर्देशन बमोजिम नै पहाडी क्षेत्र भएकाले धितोको कुल मूल्याङ्कनको ४० प्रतिशत भन्दामाथि ऋण प्रवाह गरेकै छैनौं ।’’
त्यसरी ऋण नदिएका कारण र ऋण लिएर पनि समयमा तिर्न नआएका कारण ताकेता गर्दा रिसाएकाहरुको समूहलेको उक्साहटले पनि काम गरेको हुनसक्ने सीईओ दहालले बताउनुभयो । उनका अनुसार अहिलेको अवस्थामा कुनै पनि बचतकर्ता आफुहरुकहाँ बचत फिर्ता माग्न नआएको र आएको खण्डमा आफुहरुले कसैलाई रित्तो हात फिर्ता पठाउने अवस्थै आउँदैन । उहाँले अगाडि भन्नुहुन्छ, ‘‘अहिले हामीसँग ६५ देखि ७० करोड रुपैयाँ लिक्विडिटी थुप्रिएर बसेको अवस्था छ । लगानी गर्ने ठाउँ छैन । बचतकर्ताले फिर्ता मागे कुनै समस्या नै छैन ।’’
एक अर्ब ९८ करोड रुपैयाँ बचत रहेको जनसचेतनले एक अर्ब ६८ करोड रुपैयाँ मात्रै ऋण लगानी गरेको सीईओ दहालले बताए । सहकारी संस्थाहरुको एसियाली परिसंघबाट सर्टिफाइड एसीसीईएसएस सिल्भर ब्राण्ड प्राप्त जनसचेतन सहकारीको कुल वासलात दुई अर्ब ६८ करोड रहेको छ । दोलखामा पालिकास्तरमा शाखा कार्यालय विस्तार गरेको जनसचेतनले दोलखासहित काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं र ललितपुर महानगरलाई आफ्नो कार्यक्षेत्र बनाएको छ ।
काठमाडौं उपत्यकाका लागि उसले हाल जडिबुटीमा शाखा कार्यालय राखेको छ । मोवाइल बैंकिङसहित आधुनिक प्रणाली अपनाएको उसले १७ वटा शाखा विस्तार गरिसकेको छ । विशेष गरेर काठमाडौं उपत्यकामा बसोबास गर्ने आफ्ना सदस्यहरुलाई घरपायक सुविधा दिन उपत्यकामा थप आउटलेट विस्तार गर्न लागिएको सीईओ दहालले बताउनु भएको छ ।
जग्गा प्लटिङमा लगानी गरेको आरोपका सन्दर्भमा समेत उहाँले आफुहरुलाई सदस्यहरुलाई ऋण प्रवाह गरेको र उक्त ऋण मध्ये केही चुक्ता भइसकेको तथा केही चुक्ताको नियमित प्रक्रियामा रहेको जवाफ दिनु भएको छ । उता, अभियन्ता तिमिल्सिनाले भने सहकारीले गरेका गैरकानूनी कार्यविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको भनी फेसबुकमा अर्को पोष्ट गरेको बताइन्छ ।