काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारसहित १२ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी गरेर भ्रष्टाचार गरेको भन्दै १२ जनाविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
जलेश्वरका मेयर सोनार, उपमेयर रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, अधिकृत छैठौ धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सबइन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन र वडा नम्बर १ का वडाध्यक्ष अनिलकुमार झाविरूद्ध मुद्दा दायर भएको हो ।
मेयर र उपमेयर जनता समाजवादी पार्टी नेपालले जितेको थियो । त्यस्तै उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीविरूद्ध पनि मुद्दा दायर भएको हो ।
प्रवक्ता घिमिरेका अनुसार जलेश्वर वडा नम्बर १ स्थित हाटबजारमा गुणस्तरहीन ढलान गरी भ्रष्टाचार गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो । जलेश्वर नगरबाट आर्थिक वर्ष २०७९÷०८० मा बरूणसर पोखरी नजिकै रहेको बजार क्षेत्रभित्र पिपिसी ढलान गरिएको थियो ।
उक्त ढलान गर्दा योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी काम गरेको भनेर झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीका लागि टिप्पणी पेश गरेको अख्तियारले जनाएको छ ।
यसरी उनीहरूले ५ लाख ८४ हजार ६३७ रुपैयाँ भ्रष्टाचार गरेको प्रवक्ता घिमिरेले बताए । उनीहरूविरूद्ध अख्तियारले उक्त रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवाना गर्न मागदाबी गरेको छ ।
मेयर सोनार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढकाल र अधिकृत धिरेन्द्रविरूद्ध तीन महिनादेखि तीन वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल गर्न माग गरेको छ ।
त्यस्तै वरिष्ठ इन्जिनियर पवनकुमार, इन्जिनियर राकेशकुमार, सबइन्जिनियर दिपेशकुमार, उपमेयर रौशन, कार्यपालिका सदस्य सोगरा र वडाध्यक्ष अनिलकुमारविरूद्ध पनि सोही विरूद्ध तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना माग गरेको छ ।
उपभोक्ता समिति अध्यक्ष राकेशकुमार, सचिव सिकेन्द्र र कोषाध्यक्ष संतोषीविरूद्ध दुई वर्षसम्म कैद वा विगो बमोजिम जरिवाना माग गरेको छ ।