काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल देशमा मौसम बदलीको स्थिति छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्ने र चिसो अधिक हुने बताइएको छ ।
दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भेगमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधारण बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा एवं कोशीको पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
रातीː कर्णाली प्रदेश लगायत सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रही बाँकी भूभागमा आंशिक बदली हुने देखिएको छ। राती कर्णाली प्रदेश लगायत देशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, रातीको समय सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।