काठमाडौं । काठमाडौं महानगर १८ नरदेवीमा प्रधान कार्यालय रहेको जयकाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न गरेको छ ।
सहकारीहरुप्रति नकारात्मक प्रचार भइरहेका बेला जयकाली बचत तथा ऋण सहकारीले पुस महिना लाग्नुभन्दा पहिल्यै निर्विवाद भव्य तयारीसाथ साधारण सभा सम्पन्न गरेको हो । वित्तीय संस्था, सहकारी एवं फाइनान्सहरुका लागि पुस महिना ‘साधारण सभा’जन्य पर्वको रुपमा लिने गरिन्छ । महिलाहरुले सञ्चालन गरेको नमुना सहकारीका रुपमा स्थापित जयकाली सहकारीले पुस नलाग्दै साधारण सभा सम्पन्न गरेको हो ।
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य समेत रहेकी सांसद मिना तामाङलाई साधारण सभामा सहभागि गराएर जयकाली बचत तथा ऋण सहकारी संस्थाले सहकारी ऐन संशोधनमा भएका प्रगतिबारे सदस्य तथा बचतकर्तालाई विशेष जानकारी दिलाएको छ । साधारण सभामा सहभागी सांसद तामाङले सहकारीको समस्या समाधानका लागि संसद र समितिले विशेष पहल गरिरहेको र केही सहज गर्ने किसिमले ऐनमा संशोधन हुन लागेको जानकारी दिनुभयो । जसले समस्याग्रस्तसहित भ्रमको वातावरणबाट प्रभावित सबै सहकारीलाई राहत पुग्ने उहाँको भनाई छ ।
सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्णुकुमारी चौलागाईंले काठमाडौं महानगरको १६, १७, १८, १९ र २८ नम्बर वडालाई सुरु कार्यक्षेत्र बनाई २०६६ सालमा स्थापनमा भएको यस सहकारीले अहिले काठमाडौं महानगरभरी कार्यक्षेत्र विस्तार गरेको जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार हाल ३०६ पुरुष र ३७५ महिला गरी ६८१ जनाभन्दा बढी शेयर सदस्यहरु जयकालीमा आवद्ध छन् ।
संस्थाले वार्षिकोत्सवका साथै तिज कार्यत्रम, रक्तदान कार्यक्रम, सम्मान तथा पुरस्कार र सामाजिक क्रियाकलापहरु गरेको अध्यक्ष चौलाईंको प्रतिवेदनले बोलेको छ । संस्थाले विगत झैं यो वर्ष पनि नियमित बचतकर्ता, आवधिक वचतकर्ता, असल ऋणी र उत्कृष्ट कर्मचारीको सम्मान प्रदान गरेको छ ।
कोषाध्यक्षको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/०८० मा ६७ लाख ३९ हजार दुई सय रुपैयाँ शेयर पूँजी रहेकामा त्यो आर्थिक वर्ष २०८०/०८१ म आइपुग्दा ७३ लाख एक हजार ६ सय भएको अर्थात् अघिल्लो आवको तुलनामा पाँच लाख ७२ हजारले बृद्धि भएको उल्लेख छ ।
यस्तै, अघिल्लो वर्ष बचत निक्षेपतर्फ दुई करोड ६१ लख २४ हजार रहेकामा २०८०/०८१ मा दुई करोड ८७ लाख हुन गएको अर्थात् २६ लाख पाँच हजारले वृद्धि भएको बताइएको छ ।
सहकारीहरु खराब ऋणको जर्जरताबाट गुज्रिरहेका बेला जयकालीको बाह्य ऋण तथा सापटी नरहेको बताइएको छ भने यो आर्थिक वर्षमा १८ लाख ३४ हजार छ सय मात्रै चालु दायित्व रहेको बताइएको छ । तीन करोड आठ लाख ९१ हजार कर्जा लगानी गरेको जयकालीको कुल जम्मा पूँजी तथा सम्पत्ति चार करोड आठ हजार ५४ हजार रहेको छ ।
सबैखाले नाफा जोड्दा २५ लाख ८० हजार आम्दानी भएकामा कार्यालय सञ्चालन, अफिस भाडा, विविधि खर्च कटाउँदा र करको दायित्व बहन गर्दा यो वर्षको खुद नाफा एक लाख २५ हजार सात सय ५५ रुपैयाँ मात्रै रहेको जानकारी साधारण सभाका दौरान दिइयो । सञ्चालक समिति, लेखा समिति झैं, कोषाध्यक्षको प्रतिवेदन समेत विना कुनै शंका वा प्रश्नरहित ध्वनीमतले हलले स्वीकृत गरेको थियो ।
त्यस दौरान संस्थाले समग्र वित्तीय स्थिति, आम्दानी, खर्च हिसाबको विवरण तथा चल अचल सम्पत्ति एवं नयाँ अफरका बारेमा समेत जानकारी दिइएको थियो ।